ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

काठमाडौँ, १७ असोजः जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पु¥याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । 

सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युत्का खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी दिनुभयो ।

“झोलुङ्गे पुलसँगै विद्युत्का चार वटा खम्बामा बाढीले क्षति पु¥याएको छ”, उहाँले भन्नुभयो, “खम्बामा टाँगिएका सबै तार  त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।” 

क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने जानकारी दिनुभयो । “पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ”, उहाँले भन्नुभयो, “तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।