भुइँमा सुत्नुका गज्जबका फाइदा

मानिसहरू भुईँमा बस्न छाडिसकेका छन् । हामी आधुनिक भनाउँदा प्रतिष्ठाका लागि महंगा बेडमा सुत्छौँ । 

दिनभरिको मेहनतपछि नरम ओछ्यानमा पछारिँदा आराम त हुन्छ तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानि पनि पुग्छ । गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छन् । तर भुईँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।

कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ। तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस्।

काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ। लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस्।

शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस्। यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ।

दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ।

बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ।

शरीरको क्षमताअनुसार भुइँमा सुत्न थाल्नुस् त । तपाईं कति आनन्दित महसूस गर्नुहुनेछ!