प्यादाहरुको अदालतमा प्रयोग

काठमाण्डौं १७ असोज: सर्वोच्च अदालतका उपसचिव सरहका उप रजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले गएका १२ घण्टामा दुईवटा फेसबुक स्टाटस अपडेट गरेका छन् । 

पहिलो १२ घण्टा अघिको स्टाटसमा उनले भनेका छन, “३६४ दिन आज्ञापालक कुकुर जस्तै बनियो । एक दिन स्वतन्त्र हुन चाहान्छु ।ू जिल्ला न्यायाधीशमा नियुक्ति हुनै लागेका घिमिरेको यो स्टाटसले न्यायालयभित्र शक्तिको प्रयोगको वास्तविकता सार्वजनिक गरिदिएको छ ।

जिल्ला न्यायाधीश हुनै लागेका व्यक्तिमा यो स्तरको उकुसमुकुस छ भने वास्तविक रुपमा अदालत कसरी संचालन हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । उनले सधैं प्रयोग गर्ने वालमै यो स्टाटस लेखिएकोले उनको फेसबुक भएको मान्न समेत सकिने अवस्था छैन ।

पहिलो स्टाटसको चार घण्टापछि फेरी अर्को स्टाटस आयोः “म हिजो देखी निदाउन सकेको छैन । जिवनभर प्रजातन्त्रको पछि लागियो । बा सधै यस्कै लडाई लड्नु भयो । बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्व विरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउछु । अदालत खुला हुदा आफ्ना भनाई सहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिन ।ू

आफ्नो हैकम कायम गर्न अधिकृत स्तरका कर्मचारीलाई त यो स्तरको दुरुपयोग गरिन्छ भने राजपत्र अनंकित कर्मचारीको अदालतमा कुन स्तरको पेलाई, हेपाई र अन्याय होला स्प्ष्टै छ । आफ्नो अन्तस्करणले नदिएको काम गर्न समेत विभिन्न प्रलोभन देखाएर अदालतमा धेरैपटक कर्मचारीहरुबाट काम भएका छन् ।

घिमिरेले आफ्नो अन्तस्करणले नचाहंदै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि कारबाहीको प्रतिवेदन दिनुपरेको स्पष्ट गरेपछि अदालतमा शक्तिको कति दुरुपयोग हुंदो रहेछ भन्ने पनि स्पष्ट भएको छ ।

खासगरी प्रधानन्यायाधीश, न्यायपरिषद्का सदस्य रहेका बरिष्ठ न्यायाधीश र नियुक्ति गर्ने अख्तियारी पाएकाहरुले यसरी प्यादाहरुलाई प्रयोग गर्ने गरेका छन् भने न्यायाधीशहरुले आफूलाई सहज पर्नेगरी अदालतको अवहेलनामा मुद्दा समेत दायर गर्न लगाउने गरेका छन् । 

डार्क फाइल नामक सीधाकुराले प्रशारण गरेको अडियो टेपको विषयलाई लिएर समेत घिमिरेले नै अदालतको अवहेलनाको मुद्दाको प्रतिवेदन दिएका थिए । सीधाकुराका दुई पत्रकार र नक्कली अडियो बनाउने व्यक्तिलाई सर्वोच्च अदालतले कैदमा पठाइसकेको छ ।

मुखमुखैमा न्यायाधीशको पद पाउनै लागेका कर्मचारीलाई नियुक्ति सुनिश्चित गराउन वा कानुन व्यवसायीलाई समेत आकर्षित गर्न शक्तिमा रहेका व्यक्तिहरुले यो स्तरको दबाबमा काम गर्ने गरेको बेलाबखत सार्वजनिक हुंदै आएको छ । 

तत्कालिन प्रधान न्यायाधीश गोपाल पराजुलीले बढी समय पद ओगट्न खोज्दा तत्कालिन न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले यस्तै खालको स्टाटस लेखेका थिए । पछि उनले पत्र समेत थमाएर गोपाल पराजुलीलाई अपदस्त गरेका हुन् । सातबर्ष पछि उनी सर्वाेच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । निरौलालाई समेत विभिन्न प्रलोभन तथा धम्की दिएर राखिएको उनको मध्यरातको स्टाटस भोलीपल्ट हटाइएको थियो । 
 
कुनै नेता विरुद्ध वा कुनै न्यायाधीश विरुद्ध वा कुनै शक्तिमा रहेको व्यक्ति विरुद्ध कर्मचारी वा कानुन व्यवसायीलाई छानेर शक्तिकेन्द्रहरुले प्यादा बनाउने गरिएको छ । 

विश्वम्भर प्रसाद श्रेष्ठले प्रधान न्यायाधीशको पदबाट बिदाई भएकै दिन जुम्राले छाडेको कतिपयले व्यङ्ग गरेतापनि सर्वाेच्च अदालतका उपरजिष्ट्रार घिमिरेले अदालतभित्र रहको गलत संस्कृतिको भण्डाफोर गरिदिएका छन् । 

आगामी दिनमा न्यायालयमा कस्ता प्यादाहरुको प्रयोग गरिएला पर्खनुको विकल्प छैन ।