बाढीपहिरोले देशका यी सडक अझै अवरुद्ध(सुचिसहित)

 हालैको अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छ । काठमाडौंसहितका केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाली प्रहरीले जनाएको छ ।

साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान ८ बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार, काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्डमा पहिरोका कारण बाटो अवरुद्ध छ । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित लेले, टीकाभैरव जाने बाटो पहिरोका कारण अवरुद्ध छ ।

ट्राफिक प्रहरीका अनुसार, ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारीसाधन आज पनि चल्न सकेका छैनन् । पुलनजिकै सडक भासिएकाले सवारी आवागमन प्रभावित भएको हो ।

विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तिलोकपथ हुँदै उपत्यका भित्रने र बाहिरिने सवारीसाधन पनि चल्न सकेका छैनन् ।

काभ्रेपलाञ्चोकका विभिन्न स्थानहमा रोशीखोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग केही दिनअघिदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका–२ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गमा आवागमन अवरुद्ध छ ।

रामेछापको मन्थली नगरपालिका–६ स्थित सुनकोसी नदीको पुल र खाडादेवी गाउँपालिका–१ को खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली र सिन्धुली, नेपालथोक–मन्थली चल्ने सवारीसाधनको आवागमन पनि पूर्ण रूपमा रोकिएको छ ।

सगरमाथा राजमार्गअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिका–११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।

मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामाथिको बेलीब्रिज बाढीले बगाउँदा आवतजावत रोकिएको छ ।

विस्तृत सूची हेर्नोस्–

s1-1727926532.jpg