बर्डफ्लूबाट ४७ बाघ र तीन सिंह मरे

काठमाडौँ, १७ असोजः  ‘एच५एन१’ बर्ड फ्लू भाइरस संक्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ । 

आधिकारिक भियतनाम समाचार एजेन्सी (भिएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरुको मृत्यु भएको हो । 

“नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस”को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु “एच५एन१ टाइप–ए भाइरसको संक्रमणबाट भएको भिएनएले जनाएको छ ।

चिडियाखानाहरूले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था “एजुकेशन फर नेचर भियतनाम (इएनभी)” ले सन् २०२३ को अन्त्यमा भियतनाममा कुल ३ सय ८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ । 

सन् २०२२ देखि एच५एन१ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

भियतनामले मार्चमा विश्व स्वास्थ्य सङ्गठनलाई यस भाइरसबाट मानिसको मृत्यु भएको जानकारी दिएको थियो ।