'बेहुली फ्रम मेघौली' आज देशभरका सिनेमा घरहरुमा एकसाथ प्रदर्शन हुदैँ

काठमाडौँ, १७ असोजः आज घटस्थापनाको दिन पारेर चलचित्र 'बेहुली फ्रम मेघौली' देशभरका सिनेमा घरहरुमा एकसाथ प्रदर्शन हुने भएकाे छ ।

याे फिल्मले नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै शो पाउने फिल्म बनेको छ। वितरक अशोक शर्माले ‘बेहुली फ्रम मेघौली’ले ३३५ शो पाएको जानकारी दिएका छन्।

काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको हो। अहिलेसम्म ठूला ब्यानर र पपुलर ब्रान्डका सिनेमा रिलिज हुँदा पनि यति धेरै शो नपाएको उनको भनाइ छ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा लगानी उनीहरूकै छ। फिल्म सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको हो।

निश्चल र स्वस्तिमासँगै सिनेमामा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय छ। सिनेमाले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गरेको छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस‍्को ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी छ।

जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ।