‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’

काठमाडौँ, १७ असोजः  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताउनुभएको छ । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले यहाँ आजदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उहाँले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताउनुभयो ।
 
स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले छिट्टै निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । यसका अतिरिक्त सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चर्जिङ स्टेशन बनाउन लागेको बताउनुभयो।
 
महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरोकारवालाहरुले अग्रसरता देखाएर काम गर्ने वातावरण बनाउनुपर्छ ।”
 
कार्यक्रममा एशोसिएशनका अध्यक्ष राजन पियाले चार्जिङ स्टेशन, अटोल्याण्ड, मोटर्स स्पोर्सका लागि ट्रयाक निर्माणमा महानगरपालिकाको सहयोगको अपेक्षा गर्नुभयो । एशोसिएशनले पहिलो पटक सबैको साथ र सहयोगबाट चितवनमै यो कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।
 
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्युतीय मोटरले देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, उद्योग सङ्घ चितवनका कार्यवाहक अध्यक्ष मदन घिमिरे, च्याम्बिर अर्फ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराई, एशोसिएशनका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठलगायतले जिल्लामा पहिलो पटक यति ठूलो कार्यक्रम गर्न पाएको बताउनुभयो ।
 
एक्स्पोमा २८ वटा स्टल रहेका छन् । ती स्टलमा २५ भन्दा बढी कम्पनीका कार, जीप, मोटरसाइकललगायत सवारीसाधन रहेका छन् । यही असोज १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ८० प्रतिशत विद्युतीय सवारीसाधन रहने छन् । एशोसिएशनले यसअघि भुटान र भारतसम्म मोटर र्‍याली, देवघाट हलेसी माउन्ट एभरेष्ट र्‍याली, मोटर जिमखाना जस्ता कार्यक्रम गरिसकेको छ।