गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल

काठमाडौँ, १६ असोज :  यातायात सहजरुपमा सञ्चालन गर्न गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीहरुसँग छलफल गर्नुभएको छ । उहाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग÷सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गर्नुभएको हो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला यातायात सहज र सुरक्षितरुपमा सञ्चालन गर्न यातायात व्यवसायी, यातायात मजदुर सङ्घ÷सङ्गठनका पदाधीकारीबीच सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

“विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ”, उहाँले भन्नुभयो, “बिपी राजमार्गअन्र्तगत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।”
    
गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो । “अवरुद्ध यातायात सञ्चालनदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रा लगायतका विषयमा छलफल भयो”, उहाँलेले भन्नुभयो, “हामीले सवारीसाधन जाँच गर्ने लगायतका विषयमा पनि छलफल गरेका छौँ ।”

सो अवसरमा मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी सक्रिय रहेको बताउनुभयो । “पृथ्वी राजमार्गको झ्याप्ले खोलालगायत स्थानमा पहिराको जोखिम रहेका क्षेत्रमा ट्राफिक प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “चाडवाडका बेला आएको विपद्को सामना गर्दै सहज यात्राका लागि गम्भीर भएर लागिपरेका छौँ ।”