उपराष्ट्रपतिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

 काठमाडौँ, १६ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितका राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
 
यसैगरी, उपराष्ट्रपतिको कार्यालयअन्तर्गत उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञहरू (सल्लाहकारहरू) र प्रमुख स्वकीय सचिवबाट पाँच–पाँच दिन तथा सहसचिवदेखि अधिकृत वा सो सरहको कर्मचारीबाट तीन–तीन दिनको पारिश्रमिक बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलोमात्रामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उहाँले घाइते भएकाहरुको निःशुल्क उपचार र विपद् प्रभावित क्षेत्रमा हैजा, डेङ्गुजस्ता रोग फैलिन नदिन आवश्यक उपाय अवलम्बन गर्न, विस्थापित परिवारका लागि पुनर्वासको व्यवस्था गर्न तथा राहत सामग्रीलगायत  खाद्यान्नको व्यवस्थापन एवं अवरुद्ध लोकमार्गहरू यथाशीघ्र खुलाई आगमन सहज बनाउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।