गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना

 दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पे नजिकै एम्बुलेन्स  दुर्घटनामा परेको छ।

जिल्ला अस्पताल बैतडीबाट गर्भवती बोकेर डडेल्धुरा जाँदै गरेको सुप्र०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर खोडपे नजिकै दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। दुर्घटनामा परेको एम्बुलेन्स जिल्ला अस्पतालको हो।

एम्बुलेन्समा  एक गर्भवतीसहित ३ जना सवार थिए। एम्बुलेन्समा सवार सबै सकुशल रहेका र उनीहरूलाई अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको छ। एम्बुलेन्सलाई नालीबाट निकालेर खोड्पे प्रहरीचौकीमा राखिएको छ।

एम्बुलेन्स चालक ५० वर्षीय प्रकाश चन्दलाई प्रहरीले  नियन्त्रणमा लिएको छ। चालक प्रकाशले मादक पदार्थ सेवन गरेको आशङ्का गरिएको छ। चालकको मुखमा मादक पदार्थको जस्तो गन्ध आइरहेकाले जाँच गर्न पाटन लगिएको  छ। घटनाबारे  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।