थाई एयर एसियाले नेपालबाट नियमित उडान थाल्याे

 थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर एसियाको विमान अवतरण भएसँगै नियमित उडान सुरु भएको हो ।

थाई एयर एसियाले नेपालमा पहिलोपटक उडान सेवा थालेको हो । कम्पनीले काठमाडौंपछिबैंककबाट भैरहवा उडान गर्ने अनुमति पाएको छ ।

पहिलो उडानमा बुधबार बैंककबाट १५६ यात्रु काठमाडौं आएका थिए । काठमाडौंबाट १५९ यात्रु बैंकक जाने छन् ।थाई एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिएको थियो ।

थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल एन्ड टुर्स रहेको छ  । कम्पनीले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, भियतनाम, इन्डोनेसिया,लाओस,श्रीलंकालगायत एसियाली मुलुकमा उडान गर्दै आएको छ ।