प्रस्तावित प्रधानन्यायाधीशको २४ बुँदे योजना(पूर्णपाठ)

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संसदीय सुनुवाइ समितिसमक्ष २४ बुँदे कार्ययोजना पेस गरेका छन् ।

आज समितिमा सुनुवाइको क्रममा उनले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने प्रतिवद्धता जनाए ।

उनले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्तिलगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना पनि सुनाए । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको भन्दै उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढ्ने बताएका छन् ।

उनले भने, ‘मेरो कार्ययोजना कार्यान्वयनका लागि नियमित अनुगमन तथा मूल्यांकन र आवधिक समीक्षाको सुनिश्चितता गरिनेछ । नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारी रहेको प्रति म स्पष्ट र प्रतिवद्ध छु । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सचेत र संवेदनशील छु ।’