नेपाली सुगर ड्याडीलाई थुनामा पठाउन आदेश

युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष् देउला उर्फ ‘सुगर ड्याडी’लाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेका हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो । ३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । बा.७ च ६४६१ नम्बरको पजेरोमा राखेर उनको समूहले भदौ ७ मा विशाल पोडेलाई  टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएका हुन् । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर उनीसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई पनि अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । देउला बुढानीलकण्ठमा बस्छन् । उनले घरमा लगेर निमा नाम गरेका अर्का किशोरलाई यातना दिएको अनुसन्धानबाट थाहा भएको छ । क्लबमा भेट्ने युवायुवतीलाई ‘हाउस पार्टी’ गर्ने भनेर आशिषको समूहले बुढानीलकण्ठ र लगनमा लगेर यातना दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । देउलाको समूहमा २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ पक्राउ परेका थिए ।

धनी बाबुका छोरा आशिष् रात्रि क्लबको नियमित ग्राहक हुन् । सिनेट, ओम्निया र एलओडीमा उनी निरन्तर जान्छन् । पीडित विशाल देउला भन्छन्, ‘मैले उहाँलाई सिनेटमा भेटेको हुँ ।’