नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालित ७०औं चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालित ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको छ । काउन्सिलका अनुसार यस वर्षको परीक्षामा कुल ५५.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवको अनुसार, मेडिकल तर्फ ५१.४ प्रतिशत र डेन्टल तर्फ ७२.९७ प्रतिशत विद्यार्थी सफल भएका छन् । मेडिकल विभागमा १,१६८ जनाले आवेदन दिएकोमा १,१२९ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यीमध्ये ५७९ जना उत्तीर्ण भए भने ३९ जना अनुपस्थित रहे । थप तीन जनाको नतिजा विचाराधीन राखिएको छ ।

डेन्टल विभागतर्फ ३०६ जना आवेदकमध्ये २९६ जनाले परीक्षा दिएका थिए । जसमध्ये २१६ जना उत्तीर्ण भए भने १० जना परीक्षार्थी अनुपस्थित रहे । यस वर्षको परीक्षा असोज १३ गतेदेखि १६ गतेसम्म पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन भएको थियो ।

देशव्यापी बाढी र पहिरोका कारण यात्रामा कठिनाइ भोगेका परीक्षार्थीहरूलाई ध्यानमा राख्दै काउन्सिलले असोज १५ गतेको दिउँसो र १६ गतेको बिहानी सत्रमा छुटेका परीक्षार्थीलाई विशेष अवसर प्रदान गरेको थियो ।