काठमाडौँका व्यापारीको अपहरणपछि फिरौती लिएर हत्या, पक्राउ

काठमाडौँका एक व्यापारीको अपहरणपछि फिरौती लिएर हत्या भएको खुलेको छ। असोज ६ गते बिहान साढे ८ बजे काभ्रेको पाँचखाल नगरपालिका ८ को ४९ किलो भन्ने ठाउँमा एक पुरुषको शव फेला परेको थियो। जिल्ला प्रहरी काभ्रेका अनुसार उनको अपहरणपछि फिरौती लिएर हत्या गरिएको खुलेको हो।  

मृतक कीर्तिपुर नगरपालिका ५ का ५० वर्षीय विनोद खड्गी भएको उनका छोराले सनाखत गरेका छन्। प्रहरीले अपहरणपछि ५ लाख रूपैयाँ फिरौती लिएर हत्यामा संलग्न रहेको आरोपमा ५ जनामाथि कर्तव्य ज्यानको कसुरमा मुद्दा अगाडि बढाएको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ घर भई भक्तपुरको मध्यपुर ठिमीमा डेरा बस्ने २१ वर्षीया मनिषा महत, काठमाडौँको शंकरापुर नगरपालिका ५ का २२ वर्षीय सरिन घिमिरे र २१ वर्षीय निकेश पौडेल, महोत्तरीको गौशाला नगरपालिका ६ घर भई भक्तपुरको कौशलटार बस्ने आशिष पासवान र बागलुङको गलकोट नगरपालिका ७ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतिश गौतम रहेका छन्। 

ती व्यवासायीलाई हनी–ट्रयापमा पारेर युवतीको कोठामा बोलाएको र अपहरण गरी ५ लाख रूपैयाँ फिरौती पनि लिएको खुलेको छ। मनिषालाई भेट्न गएका खड्गीलाई यी ५ जनाले मनिषाको कोठाबाटै अपहरण गरेको र कुटपिट गरी फिरौती रकम लिएको काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।  फिरौती रकम लिइसकेपछि उनीहरूले खड्गीको हत्या गरेर शव झाडीमा फालिदिएका थिए।