दुर्भाग्यवस मेरो दाम्पत्य जीवन सुमधुर हुन सकेन, अलग बस्ने निर्णय गर्यौं,योभन्दा बढी नभनौँ : प्रस्तावित प्रधानन्यायाधीश राउत

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो दाम्पत्य जीवनबारे धेरै कुरा उजागर उर्नु उपयुक्त नहुने स्पष्टीकरण दिएका छन्। बुधबार संसदीय सुनुवाइ समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले सुरुमै यसबारे आफ्नो धारणा राखेका हुन्।

शक्तिको दुरुपयोग गरी श्रीमतीमाथि हिंसा गरेको, घरनिकाला गरेको, न्यायको प्रयासमा अवरोध गरेको, आफ्नो हस्ताक्षर किर्ते गरेको आरोप लगाएर कानुनी झमेलामा फसाएको प्रहरी लगाएर थुनाएको आरोप राउतमाथि लागेको थियो।

उजुरीकर्ताको प्रश्न थियो, ‘श्रीमतीसँगको विवादित झगडिया तपाईं प्रधानन्यायाधीश हुँदै हुनुहुन्छ। न्यायाधीशको नैतिकताको मापन के हो?’

यसबारे बुधबार संसदीय समिति बैठकको सुरुमा कुनै प्रश्न नै नआइ प्रस्थावित प्रधानन्यायाधीश राउतले स्पष्टीकरण दिन थाले।  समिति बैठकमा कार्ययोजना प्रस्तुत गर्नुअघि सुरुमै उनले यो विषय उजागर गरेका हुन्। 

‘मेरो दाम्पत्य जीवनको बारेमा संशय आउनसक्ने भएकाले मैले अगाडिनै भन्न चाहन्छु। दुर्भाग्यवस मेरो दाम्पत्य जीवन सुमधुर हुन सकेन। हामीले अलग अलग बस्ने निर्णय गर्यौं,’ राउतले भने, ‘२०७७ साल मंसिर १० गते डिभोर्स गर्यौं। आज महिला अस्मिताका लागि, सम्मानको लागि, प्रतिष्ठाको लागि यो विषय योभन्दा बढी उजागर गर्न उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन।’

उनले आफूले ३३ वर्षसम्म वकालत गरेको, हजारौँ मुद्दामा बहस गरेको र न्यायाधीश सिफारिस भइसकेपछि अहिलेसम्म ९ हजार २ सय ४५ थान मुद्दा फैसला गरेको पनि जानकारी गराएका छन्।