छाप्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को संख्या २० लाख नाघ्याे

यातायात व्यवस्था विभागले छाप्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को संख्या २० लाख नाघेको बताएको छ । विभागका अनुसार ट्रायल पास गरेका करिब २० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ ।

हाल विभागले आपत्कालीन अवस्थाका लाइसेन्स मात्रै प्रिन्ट गर्दै आएको छ । प्रिन्टिङ मेसिनमा समस्या आएको भन्दै विभागले नियमित रूपमा गर्दै आएको छपाइ करिब डेढमहिनादेखि रोकेको छ ।विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले छाप्न बाँकी लाइसेन्सको संख्या करिब २० लाख नाघेको बताए । इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स (ईडीएल) सिस्टममा आएको समस्या समाधान गर्न प्राविधिक आए हाल रोकिएको छपाइ सुरु हुने उनको भनाइ छ ।

सरकारले ०७० असोजमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स छाप्ने सम्झौता गरेको थियो । हालसम्म विभागले ३६ लाखभन्दा बढी लाइसेन्स छापेको छ ।

ठूलो संख्यामा छाप्न बाँकी लाइसेन्स हुँदा र दैनिक हजारौँ नयाँ थपिँदै जाँदा विभागलाई चुनौती थपिएको छ । थप प्रिन्टिङ मेसिन किनेर छाप्ने वा प्रदेश सरकारले छाप्ने भन्ने विषयमै अन्योल बढेको छ ।हाल कोसी प्रदेशले एक वर्षका लागि भनेर क्यूआर सिस्टमको लाइसेन्स छाप्न थालेको छ । वाग्मती प्रदेशले नागरिक एपमार्फत देखिने क्यूआरसहितको डिजिटल लाइसेन्सलाई नै मान्यता दिने तयारी गरेको छ ।

लाइसेन्स छाप्न विभागसँग करिब १२ लाख मात्रै कार्ड उपलब्ध छ । बाँकी लाइसेन्स छाप्ने प्रक्रियाका लागि मेसिन र कार्ड थप खरिद गर्ने वा के कसरी अघि बढाउने भन्नेमा विभाग निश्कर्षमा पुग्न सकेको छैन ।