जित्नैपर्ने दबाबमा नेपालले ओमानविरुद्ध खेल्दैँ

क्यानडामा जारी टी–२० सिरिजमा नेपालले अन्तिम खेलमा ओमानसँग खेल्दैछ । नेपाल र ओमानबीचको खेल बुधबार राति ९ः४५ देखि क्यानडाको किंगसिटीस्थित मेपल लीफ नर्थवेस्ट ग्राउन्डमा सुरु हुनेछ ।

जारी श्रृंखलामा दुवै टिम दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो र तेस्रो खेलमा क्यानडासँग पराजय बेहोर्दा दोस्रो म्याचमा ओमानलाई हराएको थियो । श्रृंखलाको पहिलो खेलमा क्यानडासँग नेपाल १४ रनले पराजित भयो । उक्त खेलमा क्यानडाले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रनमै अलआउट भयो ।  

दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ओमानलाई ३७ रनले हरायो । उक्त म्याचमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो । १ सय ७७ रनको लक्ष्य साथ जवाफी ब्याटिङका उत्रेको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनायो । तेस्रो खेलमा नेपालले ब्याटिङमा राम्रो सुरुवात गरे पनि त्यसलाई कायम राख्न भने सकेन । र, क्यानडासँग नेपाल १ सय ३९ रनमा रोकियो ।

यस खेलमा नेपालले ४ विकेटको पराजय बेहोर्यो । यो हारपछि नेपाल अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । र, सिरिजमा जीवित रहन नेपाललाई आज जित्नैपर्ने दबाब छ । यदि आजको खेलमा पराजय भएमा सिरिज जित्ने नेपालको लक्ष्य समाप्त हुनेछ । त्यसका कारण नेपाल ओमानविरुद्ध अनिवार्य जितका साथै मैदान उत्रनेछ । 

उता ओमान पनि नेपालसँगको पहिलो खेलमा बेहोरेको हारको बदला लिन चाहन्छ । ऊ अहिले तालिकाको तेस्रो स्थानमा छ । सिरिज जित्ने सम्भावना बलियो बनाउन माइनस ०.०२१ ने६ रन रेट रहेको ओमानी टिम नेपालविरुद्ध उत्कृष्ट जितको अपेक्षामा छ ।

हालसम्म नेपाल र ओमानले ७ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले चार तथा ओमानले तीन खेल जितेको इतिहास छ । ओमानविरुद्ध नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । आजको खेलमा नेपालले कुशल मल्लको ठाउँमा आरिफ शेख वा भीम सार्कीमध्ये एकले मौका पाउन सक्छन् ।