काठमाडौँका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ, ५ लाख ६ हजार रूपैयाँ नगद बरामद

काठमाडौँका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। 

काठमाडौँ महानगरपालिका २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो।

उनीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।