विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह

काठमाडौँ, १६ असोज : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका सरोकार भएका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकार सहारा बन्नुपर्ने भन्दै अध्यक्ष साहले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले आ–आफ्नो तर्फबाट पीडित जनतालाई सहयोग उपलब्ध गराउन सबैसँग आग्रह समेत गर्नुभयो ।

बाढीपहिरोबाट जनधनका साथै लाखौँ जनताका अर्बाैँ मूल्य बराबरको भौतिक क्षति भएको उल्लेख गर्दैै सांसदसमेत रहनुभएका अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले बाढीपहिरो पीडितलाई एक महिना बराबरको आफ्नो पारिश्रमिक उपलब्ध गराउने जानकारी दिनुभयो ।