दशैंको अग्रिम टिकट बुकिङ नरोकिने

दशैंको अग्रिम टिकट बुकिङ नरोकिने भएको छ ।

मङ्गलवार यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबी भएको बैठकमा मौषममा सुधार आएको र तीव्र गतिमा राजमार्गहरू खोल्ने काम भएको कारण अग्रिम टिकट बुकिङ कायम राख्ने सहमति भएको छ ।

तर यसको लागि सवारीसाधनले अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा समेत राखेर मात्र यात्रा गर्नुपर्ने सहमति भएको छ । अत्यधिक वर्षाका कारणले रेड जोनमा परेका सडक खण्ड तथा सडकहरूमा हेभी इक्विपमेन्ट तैनाथ राख्न सडक विभागलाई निर्देशन गरिएको छ ।

असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशका विभिन्न भागका प्रमुख राजमार्गहरू भासिने र पहिरोले अवरुद्ध भएका थिए । त्यसपश्चात् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेको थियो ।