स्याङ्जामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या

हरिनास गाउँपालिका –४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा मङ्गलबार प्रहरीले स्थानीय ३२ वर्षीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ ।

गएराति १० बजेको समयमा थापाले घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकार दिनुभयो ।

घन प्रहार गर्ने थापालाई घनसहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । घटना के कसरी भयो सो सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।