बार-बेन्च द्वन्द्वमा प्रोक्सी वार, कहिले होला वारपार ?

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्ध सर्वोच्च अदालत प्रशासनले नै अवहेलनासम्बन्धी मुद्दामा कारबाही अघि बढाएको छ। प्रशासनले उठाएको प्रतिवेदनका आधारमा घिमिरेविरूद्ध मुद्दा अघि बढिसकेको छ । उक्त मुद्दामा अब दसैँपछि मात्र सुनुवाइ हुनेछ । त्यतिन्जेल हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश भइसक्नेछन् ।  

सर्वोच्च प्रशासनका अनुसार, स्वचालित प्रणालीअनुसार मुद्दाको पहिलो पेसी कात्तिक १ गते तोकिएको छ । पहिलो सुनुवाइका दिन प्रतिवेदन इजलासमा पेस भएपछि घिमिरेलाई झिकाएर बयान गराउने तयारी छ । यतिखेर बार अध्यक्ष घिमिरेविरूद्धको मुद्दाले न्याय क्षेत्र नै तरंगित भएको छ । अदालत प्रशासनले नै अवहेलनामा कारबाही गर्न प्रतिवेदन उठाएका आधारमा सर्वोच्चले दुई जना पत्रकारलाई कारागार पठाएकै बेला उही शैलीमा बार अध्यक्षका विरूद्धमा मुद्दा दर्ता भएकाले पनि यसका कम्पनहरू हालैको बाढीपहिरोले पैदा गरे भन्दा बढी शक्तिशाली देखिएका छन् । 

झट्ट हेर्दा वरिष्ठ अधिवक्ता घिमिरेले एक कार्यक्रममा ‘प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको’ भनी दिएको अभिव्यक्तिलाई यस मुद्दाको जरिया मानिएको छ । अदालत प्रशासनको प्रतिवेदनमा अध्यक्ष घिमिरेले कपोलकल्पित, भ्रामक, झुटा र कुनै पनि न्यायकर्मीले सोच्नै नसक्ने भनी अभिव्यक्ति दिएको आरोप लगाइएको छ । बार नेतृत्वले भने गत वर्ष संशोधित न्याय परिषद् नियमावलीलाई यस मुद्दाको जरिया मानेको छ । 

बाहिर जे देखाइए पनि भित्री कुरा यो होइन । खासमा न्यायालयमाथि हाबी हुन चाहने दुई फरक धारका शक्तिकेन्द्रको प्रोक्सी वार न्यायालयमा देखिएका छन् । बार–बेन्च द्वन्द्वमा आमनेसामने भएका यी दुवै पक्षलाई उकास्ने, एकअर्काका विरूद्ध प्रयोग गर्ने र आफ्नो अहं सिद्धि गर्ने ती तत्त्व बाहिरै छन् । 

न्याय परिषद् नियमावली अहिले आएको थिएन । एक वर्षभन्दा बढी भइसकेको छ । अहिले आएर बार अध्यक्षले धर्ना र जुलुस गर्न उत्रिए । सर्वोच्च बार एसोसिएसनले फरक खालको ज्ञापनपत्र बुझाउँदा पनि घिमिरेले आफ्नो अड्डी त्यागेनन् । पछिल्लोपल्ट दुई न्यायाधीश नियुक्तिको सिफासिर भएपछि त उनले झण्डै विक्षिप्तभावमै अभिव्यक्ति दिए ?  

किनभने बार अध्यक्ष घिमिरे र पूर्वप्रधान न्यायायाधीश गोपाल पराजुलीको नङ मासुको सम्बन्ध छ । उपेन्द्रकेशरी न्यौपानेदेखि प्रेमबहादुर खड्डकासम्मै पराजुलीको इशारामा चल्छन् । बारमा अहिले यही खेमा हाबी छ ।हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठदेखि अब हुनेवालाहरू प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ निकट मानिन्छन् । गोपाल पराजुली र कल्याण श्रेष्ठको द्वन्द्वको घानमा अहिले न्यायपालिका परेको छ ।

पराजुली खेमाको अहिले सबैभन्दा ठूलो टाउको दुखाइ नृपध्वज निरौला भएका छन् । यस खेमाले जसरी पनि निरौलालाई रोक्न खोजेको थियो । रोकिरहेकै पनि थियो । किनभने निरौलाकै कारण पराजुलीले निकै बदनामीसाथ अदालतबाट बिदा हुनुपरेको थियो ।

बारले जसरी पनि निरौलालाई हुन नदिने अख्तियारी र जिम्मेवारी पाएको थियो । तर अन्तिम समयमा उसको प्रयास सफल भएन । निरौला भावी प्रधानन्यायाधीशको रोलक्रममा आएर बस्न सफल भइहाले । त्यसपछि बार अध्यक्षको पारो चढ्यो । उनको शक्तिको स्रोतसामु अब असफलसिद्ध भए । बार अध्यक्षपछि प्राप्त हुन सक्ने सम्भावित पद अब उनले नपाउन सक्ने भए । त्यसपछि उनी सीमा नाघेर बोल्न थाले । उनको अभिव्यक्तिको जिम्मेवारी अरु कानुन व्यवसायीले बारको थाप्लामा हाल्न नहुने भनिरहेका छन् ।

डीएलएले समेत घिमिरेका पक्षमा विज्ञप्ति जारी गर्न सकेन र दुवै पक्ष संयमित हुन आग्रह मात्र गरेको छ ।कांग्रेस खेमा नै विभाजित भएको र बारले अहंको विषय बनाएको कारण अब राउतको कार्यकालभरि पनि यही विषयले बार–बेन्च सम्बन्ध सुधार हुन नसक्ने भएको छ ।