दसैँ नजिकियाे, ढुङ्गा र माटोका घर छैनन, कमेरो र रातोमाटोको प्रयोग हरायाे

 नेपाली हिन्दु धर्मावलम्बीको ठूलो चाड दसैँ नजिकिएको छ । दसैँ नजिकिएसँगै पहाडका ग्रामीण क्षेत्रका गाउँबस्तीहरुमा घर सिँगार्ने काम सुरु भएको छ ।

केहीवर्ष अघिसम्म पहाडका गाउँबस्तीहरुका घरमा कमेरो (सेतोमाटो) र रातोमाटोले लिप्ने र पोत्ने प्रचलन रहेको थियो । तर अहिले भने कमेरो र रातोमाटोले घर लिप्ने पोत्ने चलन भने हराउँदै गएको छ ।

पहाड तिरका परम्परागत शैलीमा ढुङ्गा र माटोबाट बनेका घरहरुमा कमेरो र रातोमाटोको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समयमा आधुनिकतासँगै घर बनाउँदा सिमेन्टको प्रयोग हुन थालेपछि र परम्परागत शैलीमा बनेका घरहरुमा पनि सिमेन्टले प्लस्टर गर्न थालिएपछि कमेरो र रातोमाटोको सट्टामा बजारिया आयातित रङ (कलर)को प्रयोग हुन थालेको हो ।

ऐरावती गाउँपालिका वडा नम्बर ६ महेन्द्रदीपका स्थानीय नारायण पाण्डेले केहीवर्ष अघिसम्म गाउँलेहरु सबै मिलेर समूहमा घरभन्दा धेरै टाढा कमेरो र रातोमाटो लिन जाने गरेको बताउनुभयो । “केहीवर्ष अघिसम्म गाउँले सबै मिलेर बिहानै कमेरो लिन झण्डै एक घण्टाको उकालो र आघा घण्टाको ओरोलो बाटो भएर धारापानीमा कमेरो लिन जान्थ्यौं, समूहमा जाँदा रमाइलो हुन्थ्यो, कमेरोले घर पोत्दा चिटिक्क देखिन्थ्यो ।” पाण्डेले भन्नुभयो ।

पाण्डेका अनुसार धारापानीबाट ल्याएको कमेरो र ओखलढुङ्गाबाट ल्याएको रातोमाटोले हरेक दसैँमा घर सिँगारिने गरिन्थ्यो । कमेरो र रातोमाटोले घर लिपपोत गर्दा चिटिक्क देखिन्थे । पछिल्लो समयमा भने घरहरु सिमेन्टबाट बन्न थालेपछि र ढुङ्गा र माटोबाट बनेका पुराना घरहरुको पनि माटो उप्काएर सिमेन्टको प्लस्टर गर्न थालिएपछि भने कमेरो र रातोमाटोको ठाउँमा बजारिया रङको प्रयोग हुन थालेको हो ।

दसैँ सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको स्मरण गर्नुहुन्छ अर्का स्थानीय लोकमाया गुरुङ । “दसैँका बेलामा टाढा टाढासम्म कमेरो र रातोमाटो लिन जान्थ्यौं, कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने गथ्र्यौं ।” गुरुङले भन्नुभयो, “अहिले त त्यो प्रचलन हरायो, धेरै जसोले पुराना घरमा लगाएको माटो उप्काएर सिमेन्टको प्लस्टर गरेका छन्, प्लस्टर भएका घरमा अहिले बजारिया रङ लगाउने चलन आयो, कमेरो र रातोमाटो त उस्तै परे देख्न पनि छोडिसक्यो ।”

गाउँमा पहिले पहिले दसैँका बेलामा लाहुरेहरु फर्किने, सहरबजार पढ्न गएका विद्यार्थीहरु र रोजगारीमा गएका व्यक्तिहरु फर्किने, चर्खे पिङ र लिङ्गे पिङ हाल्ने रमाइलो गर्ने प्रचलन रहेको थियो । साथै दसैँका लागि आवश्यक पर्ने चिउरा चामललगायतका खाद्यान्न ढिकी र जाँतोमा कुट्ने पिस्ने गरिन्थ्यो । तर पछिल्लो समयमा विकसित हुँदै गएको बजारीकरण र आधुनिकतासँगै विस्तारै यो चलन पनि हराउँदै गएको छ ।

परम्परागत चालचलन तथा मौलिकतालाई छाड्दै विस्तारै आधुनिकतालाई पछ्याउँदै जाँदा र रैथाने साधन, स्रोत तथा सीपको विस्तारै प्रयोग हुन छोडेपछि परम्परागत रितिरिवाज, संस्कार र संस्कृति समाजबाटै लोपै हुने हुन कि भन्नेमा स्थानीय चिन्तित देखिन्छन् । अहिले पहाडका गाउँघरमा कमेरो र रातोमाटोले लिपपोत गरेका घरहरु बिरलै देख्न पाइन्छ ।