नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान आएको १५ जना बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, १६ असोजः नेपालबाट  १५ जना बङ्गलादेशी नागरिक क्रोएसिया जाने तयारी गरेका बेला पक्राउ परेर छुटेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको थियो।  

पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ । बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी क्रोएसिया जाने गरेको तथ्य बाहिर आएको छ।

प्रहरीले उनीहरुलाई ओभरस्टे र अन्य गैरकानुनी गतिविधिको आरोपमा पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो । विभागले सोधपुछ गर्दा उनीहरुले नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान आएको बयान दिएका थिए । 

सोमबार पक्राउ परेका बंगलादेशीमा ४० वर्षीय मोख लेस, २० वर्षीय अमीरुल ईस्लाम, २५ वर्षीय मसूद सिकरी, २५ वर्षीय मुसा ढली, २० वर्षीय मोहम्मद मुसरफ हुसैन, २४ वर्षीय सोजिव मिया, २० वर्षका मोहम्मद अल अमिन, ४४ वर्षका मोहम्मद अनवार हुसैन, २२ वर्षका सलमान मिया, २१ वर्षका सलेह अहमद रिजुवान, ३१ वर्षका मोहम्मद अबु सलेह, २० वर्षका मोहम्मद नुर अलोम, ३९ वर्षका मोहम्मद मोनिर हुसैन, २७ वर्षका मोहम्मद हफिज उद्धन र २१ वर्षका कमरुल हसन छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरु ओभरस्टेलगायत आरोपमा पक्राउ परेका हुन् ।

अनुसन्धानमा अधिकांशले बंगलादेशबाट अन्तर्राष्ट्रिय विमानस्थलमै आएर ३० दिनको भिसा लिएको, त्यसपछि भिसा थप नगरी बसेको र पासपोर्ट एजेन्टले क्रोएसियाका लागि भिसा प्रक्रियामा भारत पुर्‍याएको बयान दिएका छन्।