लेवान्डोस्कीको २ गोलमा योङ ब्वाइजविरुद्ध बार्सिलोनाकाे जित

रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले च्याम्पियन्स लिगमा योङ ब्वाइजविरुद्ध सानदार जित हासिल गरेको छ। 

मंगलबार राति भएको खेलमा बार्सिलोनाले योङ ब्वाइजलाई ५–० को फराकिलो अन्तरले हराएको हो। बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई गोल तथा राफिन्हा र इनिगो मार्टिनेजले एक/एक गोल गरे। एक गोल भने बार्साले उपहार पायो अर्थात् योङ ब्वाइजका मोहम्मद अली कमाराले आत्मघाती गोल गरे। 

पहिलो हाफको आठौँ मिनेटमै राफिन्हाको क्रसमा लेवान्डोस्कीले गोल गरेर बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए।३४औँ मिनेटमा पेड्रीको प्रहार विफल भएपछि त्यसकै रिबाउन्डमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। 

त्यसको ३ मिनेटमै फेरि इनिगो मार्टिनेजले गोल गरेर बार्सिलोनालाई ३–० ले अघि पारे। 

दोस्रो हाफमा मार्टिनेजको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ४–० ले अगाडि भयो। 

खेलको ८१औँ मिनेटमा योङ ब्वाइजका अली कमाराले आत्मघाती गोल गर्दा बार्सिलोनाले ५–० को फराकिलो जित प्राप्त गर्‍यो। 

गएरातिकै अर्को खेलमा इन्टर मिलानले रेड स्टारलाई ४–० ले हराएको छ। लिगअन्तर्गत आज राति ९ खेल हुँदै छन्।