गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक

काठमाडौँ, १६ असोजः गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गर्नुभएको हो । 

मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ र गुणस्तीय सेवा प्रवाहका लागि आवधिक योजना बनाएर आफूले काम सुरुआत गरेको बताउनुभयो । “स्वास्थ्य क्षेत्रको आधारभूत तहदेखि सुधारका कामलाई तीव्रता दिन्छौँ, मन्त्रालयको सिङ्गो टिम कार्ययोजना कार्यान्वयनका लागि प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशको स्वास्थ्य नीति, बजेट, प्रदेशको सम्भावना, अन्तर्राष्ट्रिय मान्यता आदिको गहन अध्ययन गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरिएको छ ।”

योजना कार्यान्वयनका लागि स्रोतको प्रबन्ध गर्न सङ्घ सरकार, विकास साझेदारलगायतसँग सहकार्य गरिने मन्त्री पाठकले बताउनुभयो । कार्ययोजनामा कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् । 

अल्पकालीन योजनातर्फ चिकित्सक एवं स्वास्थ्यकर्मी प्रोत्साहनसम्बन्धी कार्यविधि र  प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन कार्यविधि तयार गरिने मन्त्री पाठकले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरिने उहाँको भनाइ छ । निजी स्वास्थ्य संस्था दर्ता, नवीकरण र अनुगमनसम्बन्धी कार्यविधि संशोधन गरिने कार्ययोजनामा उल्लेख छ । 

प्रदेशभित्र औषधिको गुणस्तर जाँचको प्रबन्ध मिलाइने मन्त्री पाठकलले बताउनुभयो । पूर्ण संस्थागत सुत्केरी अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र पाठेघर खस्ने समस्या तथा फिस्टुला रोगको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो । 
    
गण्डकी र धवलागिरि आयुर्वेद औषधालयमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी अन्तरङ्ग सेवा व्यवस्थित गरिने भएको छ । मन्त्री पाठकले सर्ने रोग क्षयरोग, कुष्ठरोग र नसर्ने रोगको मधुमेह, उच्च रक्तचापलगायतका समुदायस्तरमा ‘स्क्रिनिङ’ गरिने मन्त्री पाठकले बताउनुभयो । प्रदेश सरकार मातहतका अस्पतालमा मानसिक रोगको उपचार सेवाको विस्तारका साथै मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने उहाँले बताउनुभयो । 

मध्यकालीन योजनाअन्तर्गत कानुनी सुधारतर्फ अस्पताल व्यवस्थापन समिति गठन आदेशको संशोधन एवं पुनःलेखन गरिने छ । सेवा करारमा स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन कार्यविधि संशोधन गरिनेछ । 

भौतिक पूर्वाधारतर्फ लमजुङ, स्याङ्जा र दमौली अस्पतालको नयाँ भवन निर्माण सुरु गरिने कार्ययोजनामा जनाइएको छ । गण्डकी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिने उल्लेख छ । 

धवलागिरि अस्पताल, मातृशिशु मितेरी र लमजुङ अस्पतालमा मातृशिशु प्रतिक्षा गृह सञ्चालन गरिने जनाइएको छ । धवलागिरि अस्पताल, दमौली, मध्यविन्दु र स्याङ्जा अस्पतालमा ट्रमा केयर सेन्टरको स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाइने मन्त्री पाठकले बताउनुभयो । 

दीर्घकालीन योजनामा स्वास्थ्य क्षेत्रको विशेषता र संवदेनशीलतालाई ध्यान दिई सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्न पहल गरिने उल्लेख छ । स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको कुल बजेटमा १० प्रतिशत हुने गरी व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने लक्ष्य लिइएको छ । अस्पतालमा आवासगृह व्यवस्थापन, प्रदेशमा क्यान्सर, मुट र मृगौला रोगको विशिष्टीकृत अस्पतालको स्थापना गरिने उल्लेख छ । 

बिरामीको आकस्मिक उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्थापन गरिने मन्त्री पाठकले बताउनुभयो । निजी क्षेत्रले लगानी गर्न सक्ने जनस्वास्थ्यका क्षेत्र तथा परियोजना पहिचान गरी स्वास्थ्य क्षेत्र लगानी खाका तयार गरी लागू गरिने उहाँले बताउनुभयो । 

त्यस अवसरमा मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले सीमित स्रोतसाधनका बावजुत मन्त्रालय मातहतका निकायले उत्कृष्ट सेवा प्रवाह गरिरहेको दाबी गर्नुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले सङ्घ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपल प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गरिने बताउनुभयो ।