नागरिकको २ अर्ब अपचलन गरेर एक वर्ष लुकेका मेयर देवकुमार नेपालीको जेल यात्रा

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जेल यात्रा सुरु गरेका छन्।

सहकारीका नाममा आमनागरिकको २ अर्ब अपचलन गरेर परिवारसहित एक वर्ष विदेश लुकेका एमाले मेयर नेपाली ११ असोजमा मात्र भारतको दिल्ली विमानस्थलबाट पक्राउ परेका थिए। इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीलाई बागलुङ लगेर मुद्दा प्रक्रिया अगाडि बढाइएको थियो।

१६ महिनासम्म लुकेका उनी महान्यायधिवक्ताले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचलनाउने निर्णय गरेपछि उनी एकाएक पक्राउ परेका थिए। उनले आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने बयान दिए पनि मंगलबार बागलुङ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।  इमेज सहकारीकै बचत ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो।

बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली १६ महिनादेखि फरार थिए। सहकारीमा राखिएको बचतले नेपालीले निजी घर र जग्गा किनेका थिए । 

मेयर नेपाली गत वर्ष जेठदेखि परिवारसहित फरार भएका थिए। उनले सहकारी ठगी गरेर बागलुङ, कास्की, काठमाडौंमा गरेर १८ घरघडेरी जोडेका छन्। 

सहकारी सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान, कर्मचारी लालमती रोका यसअघि नै थुनामा छन। 
बागलुङको १ अर्ब ९० करोडबाहेक पोखरास्थित शाखाको पनि ६६ करोड रूपैयाँ हिसाब नमिलेको देखिएको छ । यो रकम नेपालीले कर्मचारीसँग मिलेर घरजग्गा खरिद, व्यक्तिगत प्रयोजनमा लगानी गरेका छन्।  

 बागलुङको गरिब परिवारमा जन्मिएका देवकुमारका बुवा  लालबहादुर दमाईं बुर्तिबाङमा कपडा सिलाउँथे। ०३२ जन्मिएका देवकुमार बुर्तिबाङ बजारनजिकै ओडारमा खरले छाएको घरमा हुर्किएका हुन्।

कुनै बेला किराना पसल चलाएका नेपालीको जीवनस्तर सहकारीमा लागेपछि उकासिएको हो।  सुरुमा सूर्यदर्शन सहकारीको उपाध्यक्ष भएका उनी ०६९ मा पोखराबाट बागलुङ फर्किए। इमेज सहकारी खोले। बागलुङ बजार, बुर्तिबाङ, गलकोट र पोखरामा अहिले सहकारीका शाखा छन्। यी सहकारीका बचतकर्ता तिब्बती शरणार्थी पनि छन् जो देवकुमारको ससुरालीको सहयोगमा जुटेका हुन्। उनको घर–जग्गा मात्र ३ अर्बको छ।

श्रीमती छेला नेपाली र आफ्नो नाममा गरेर बुर्तिबाङमा ७, काठमाडौंमा ६, पोखरामा ३ र बागलुङमा २ गरेर १८ वटा घर रहेको उनले यसअघि नै सार्वजनिक गरेका थिए। पोखरा, काठमाडौं र बागलुङमा देवकुमार परिवारको ४४ कित्ता जग्गा छ। त्यसमध्ये ३४ वटा देवकुमार र बाँकी १० श्रीमती छेलाको नाममा छ। 

०७४ मा एमाले प्रवेश गरेका नेपालीले चुनाव जिते, मेयर बने। ०७९ को चुनावमा फेरि एमालेबाट मेयर बनेका थिए। तर, सहकारी ठगीमा मुछिएपछि एमालेले नेपालीलाई निलम्बन गरिसकेको छ। अहिले त उनी पक्राउ परेर पनि पुर्पक्षका लागि थुनामा गइसकेका छन्।