माओवादी केन्द्रद्वारा विपद्पछिको पुनःनिर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ

काठमाडौँ, १५ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालैको विपत्तिमा परेका नागरिकको सहयोग, पुनःस्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ गरेको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा एक कार्यक्रमका बीच अभियान शुभारम्भ गर्नुहुँदै विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन युद्धस्तरमा काम गर्न निर्देशन दिनुभयो ।  

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका उहाँले सङ्कटका बेला पक्षविपक्ष नभनी पुनःस्थापनामा जुट्नुपर्ने बताउनुभयो । “विसं २०७२ को भूकम्पका बेला पनि मैले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको थिए । यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उहाँले भन्नुभयो । 

त्यस अवसरमा बल्खुको जागरण टोलमा चार सय १७ घरका झण्डै चार हजारभन्दा बढी नागरिक प्रभावित भएको जानकारी दिइएको थियो ।  

अध्यक्ष दाहाललगायत पार्टी नेताहरूले आजै भक्तपुरको हनुमन्तेखोला तथा आसपासका क्षेत्रमा भएको क्षतिको अवलोकन गर्नुभएको थियो । “हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसकारण सयौँ किसानले लगाएको करोडौँको तरकारीमा पनि क्षति पुगेको छ । अब यस विषयमा पनि सरकारले काम गर्नुपर्छ”, अवलोकनपछि उहाँले भन्नुभयो ।   

अध्यक्ष दाहालसँगै माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, नेताहरू हितमान शाक्य, दिलीप प्रजापतिलगायत पनि प्रभावित क्षेत्रको अवलोकनाका लागि पुग्नुभएको थियो ।