आजबाट राजनीतिमा उत्रिए, प्रधानमन्त्री बन्छु : दुर्गा प्रसाईं

जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कार्यकर्तामाझबाट सरकारलाई लल्कारेका छन् । उनले आजबाट आफू राजनीतिमा उत्रिएको घोषणासमेत गरे ।

अदालतले छोडेलगत्तै कार्यकर्ताहरुले प्रसाईंलाई स्वागत अभिनन्दन गरेका थिए । प्रसाईंले पनि पुरानै शैलीमा भाषण गर्दै कार्यकर्तालाई उकासे । आफूलाई सिध्याउन महिला अघि सारिएको, तर अदालतले आमाको भूमिका निर्वाह गरेको उनको टिप्पणी छ ।

प्रसाईंले भने, ‘एकजना केटीलाई मुख छाड्यो, गालीगलौज गर्‍यो भनेर मलाई लगियो, जबकि मैले कसैको नाम लिएको थिइनँ । मलाई लगेपछि सोधियो- केपी ओलीलाई किन यस्तो भनेको ? प्रचण्डलाई किन यस्तो भनेको ? शेरबहादुरलाई किन यस्तो भनेको छ ? सबै जवाफ दिइसकेपछि सम्मानित अदालतले तारेखमा छोडेर आमाको भूमिका निभाएको छ ।’

‘मेरो बोली नै हतियार हो । यो बोली सर्वहाराको हो । दुर्गा प्रसाईंको आवाज मर्‍यो भने तपाईंहरुको बोलिदिने कोही हुँदैन । एक थोपो रगत हुञ्जेलसम्म दुर्गा प्रसाईं बिक्दैन, झुक्दैन र हार्दैन ।’

हिरासतमा आफूलाई प्रहरीले राम्रो व्यवहार गरेको भन्दै उनले धन्यवाद दिए, तर वीर अस्पतालले जबरजस्ती डिस्चार्ज गरिदिएको गुनासो गरे ।

‘पुलिसमा मैले भनें कि हामी नङ र मासु हौं । मलाई फेमिलियर व्यवहार भयो । उहाँहरु पनि बाध्यतामा हुनुहुन्छ, तर वीर अस्पतालमा मलाई लगेको भोलिपल्टै डिस्चार्ज कि डिस्चार्ज भनेर दबाब दिइयो । जबकि म क्यान्सर सर्भाइभर हो । दुईपल्ट क्यान्सरको अपरेसन गरेको छु । अस्पताल बसेर उपचार गराउने मेरो मानव अधिकार हो । मेरो मानव अधिकार हनन भएको छ । म बयान दिन आएको बेला डिस्चार्ज गरेर निकालेर सिंहदरबार थानामा ल्याइयो’, प्रसाईंले भने ।

आफ्नो लडाइँ अहिलेका प्रधानमन्त्रीसँग रहेको उनले बताए ।

‘एमाले त दुर्गा प्रसाईंसित मंसिर ७ मा हारिसक्यो । देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्‍यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो । मैले आजसम्म राजनीति गरेको थिइनँ, तर आजदेखि राजनीति पनि सुरु गरें । तपाईंहरुका लागि एक हजार पल्ट झुण्डिन तयार छु । तपाईंहरुको लागि एक हजार पल्ट मर्न तयार छु ।’