लामो दूरीका सवारीमा उपचार सामग्री र खानेकुरा बोक्नू : यातायात विभाग(निर्णयका सुचिसहित)

यातायात व्यवस्था विभागले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पानी तथा खानेकुरा राखेर मात्रै हिँड्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरेको छ। 

विभागमा मंगलबार यातायात व्यवसायी र प्रहरीबीच भएको बैठकले विभिन्न १० वटा निर्णय गरेको हो। विपद्‌बाट ज्यान गुमाउने यातायात मजदुरहरुको विवरण तथा दुर्घटनाग्रस्त सवारीको क्षतिको विवरण सङ्कलन गरी आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। 

 

सडकमा पहिरो आएर बाढी वा सडकमा बगाउँदा बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको जनाइएको छ। त्यस्तै, वैकल्पिक मार्गहरुको पहिचान गरी ठूला सवारी साधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटोहरु छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गहरुको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि भएको छ।