नेपालको विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी पक्राउ

नेपालको विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ। यो सँगै बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्रोएसिया जाने गरेको तथ्य खुलेको छ।

प्रहरीले उनीहरुलाई ओभरस्टे र अन्य गैरकानुनी गतिविधिको आरोपमा पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो। विभागले सोधपुछ गर्दा उनीहरुले नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान आएको बयान दिएका हुन्।

सोमबार पक्राउ परेका बंगलादेशीमा ४० वर्षीय मोख लेस, २० वर्षीय अमीरुल ईस्लाम, २५ वर्षीय मसूद सिकरी, २५ वर्षीय मुसा ढली, २० वर्षीय मोहम्मद मुसरफ हुसैन, २४ वर्षीय सोजिव मिया, २० वर्षीय मोहम्मद अल अमिन, ४४ वर्षीय मोहम्मद अनवार हुसैन, २२ वर्षीय सलमान मिया, २१ वर्षीय सलेह अहमद रिजुवान, ३१ वर्षीय मोहम्मद अबु सलेह, २० वर्षीय मोहम्मद नुर अलोम, ३९ वर्षीय मोहम्मद मोनिर हुसैन, २७ वर्षीय मोहम्मद हफिज उद्धन र २१ वर्षीय कमरुल हसन छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरु ओभरस्टेलगायत आरोपमा पक्राउ परेका हुन्। विभागको अनुसन्धानमा अधिकांशले बंगलादेशबाट अन्तर्राष्ट्रिय विमानस्थलमै आएर ३० दिनको भिसा लिएको, त्यसपछि भिसा थप नगरी बसेको र पासपोर्ट एजेण्टले क्रोएसियाका लागि भिसा प्रक्रियामा भारत पुर्‍याएको बयान दिएको विभागका निर्देशक प्रेमप्रसाद दाहालले बताए।

‘भारतबाट पासपोर्ट ल्याएर ओभरस्टेबापतको जरिवाना तिर्ने र भिसा नियमित गर्ने प्रक्रिया पूरा नगरेमा उनीहरुलाई सम्बन्धित देशमै निस्कासन गरिने छ, त्यसबेलासम्म होटल सञ्चालक जमानीमा बसेपछि छाडिएको हो,’ उनले भने।

‘क्रोएसिया जान एजेन्टमार्फत उनीहरु नेपाल आएका रहेछन्, त्यस क्रममा नेपाल बसाइका लागि ३० दिनको मात्रै भिसा लिएको पाइयो तर त्यसरी भिसा लिएको कागजात र राहदानी पनि क्रोएसियाको भिसा लगाउन भारत पुर्‍याएको देखियो,’ निर्देशक दाहालले भने, ‘बंगलादेशका नागरिकले पर्यटक भिसा लिएर १ वर्षमा १ सय ५० दिनसम्म बस्न पाउँछन्, तर नियन्त्रणमा लिइएकाहरुले ३० दिनको मात्रै भिसा लिएका र अवधि सकिइसकेपछि पनि बसेकाले तोकिएको जरिवाना र शुल्क तिरेर भिसा थप्न सक्ने व्यवस्था छ।’

पछिल्लो पटक बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीलाई भारत प्रवेशमा कडाई गरिएको छ । त्यसकारण भिसा प्रक्रिया भारतस्थित क्रोएसियाली दूतावासबाटै पूरा गरी गन्तव्यमा पुग्न उनीहरुले काठमाडौंलाई ट्रान्जिट बनाउने गरेका हुन् । यसका लागि एजेन्टलाई पैसा बुझाएर उनीहरु नेपाल आउने गरेको भेटिएको हो।

विदेश जानलाई ट्रान्जिट बनाउने गरेको बाहेक भीओआईपीबाट हुने ठगी, अनलाइन जुवालगायत कसुरमा पनि नेपालमा बंगलादेशी नागरिक पक्राउ पर्ने गरेका छन्।