राजा र हिन्दुराष्ट्र फर्काउन आएका राजावादीहरु बाढीपीडितको पक्षमा सडकमा उत्रिए

राजा र हिन्दुराष्ट्र फर्काउन लगातार आन्दोलन गर्दै आएका राजावादीहरु आज बाढीपीडितको पक्षमा सडकमा उत्रिएका छन् । 

'राष्ट्रवादी नागरिक समाज'को ब्यानरमा आज अपराह्न नारायणहिटी दरबार संग्रालयको दक्षिण गेटअगाडि सडकमा उनीहरुले धर्ना दिएका हुन् । 'राजतन्त्र जिन्दावाद'को नारा लगाएका धर्नाकारीले बाढीपहिरो पीडितलाई बेवास्ता गरेको भन्दै सरकारविरुद्ध चर्को आक्रोश पोखे ।

उनीहरुले 'बाढीपहिरो पीडितलाई बेवास्ता गर्ने सरकार राजीनामा दे', 'जनताको बेवास्ता गर्ने सरकार मूर्दावाद', 'ओली-देउवाको पाराले, दु:ख पायो साराले', 'पीडितलाई राहत दे', नालायक गृहमन्त्री राजीनामा दे' जस्ता नारा लगाएका थिए । 

दिउँसो सवा ३ बजे धर्ना सकेर उनीहरु पूर्वराजा ज्ञानेन्द्रकी बुहारी हिमानी शाहको जन्मोत्सव मनाउन भन्दै असन पुगेका छन् । असनस्थित अन्नपूर्ण मन्दिर अगाडि अपराह्न साढे ४ बजे बत्ति बाल्ने उनीहरुको तयारी छ ।