हेलेन आँधीकाे नुनिलो पानीका कारण टेस्ला गाडी आगजनी !

 अमेरिकाको फ्लोरिडामा हालै आएको शक्तिशाली हेलेन आँधीले ठूलो जनधनको क्षति भएको छ । यो सामुद्रिक तुफानका कारण फ्लोरिडासँगै जर्जिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, भर्जिनिया, अलाबामा लगायतका राज्यमा संकटकाल नै घोषणा गरिएको छ । 

यही घटनामा टेस्ला गाडी जलेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।​ फ्लोरिडा राज्यस्थित सारासोटा सहरको एक परिवारले आँधीको समयमा आफ्नो 'टेस्ला मोडल एक्स प्लेड' ग्यारेजमा पार्क गरेको थियो । त्यतिबेला गाडी चार्जमा थिएन । तर पानीको सतह बढ्दै जाँदा एक्कासि टेस्ला गाडीमा आगो लाग्यो । 

आगो लाग्दा घरमा नौ जना थिए । ग्यारेजमा आगो लागेको थाहा पाएपछि सबै जना सुरक्षित रूपमा घर बाहिर निस्कन भ्याए, तर घर भने नष्ट भयो ।

फ्लोरिडा राज्यको पिनालस काउन्टीले आफ्नो आधिकारिक फेसबुक पेजमा ग्यारेजको भिडिओ पोस्ट गरेपछि यो घटना सार्वजनिक भएको हो । समुद्रको नुनिलो पानीमा विद्युतीय गाडीको ब्याट्री लामो समयसम्म रहँदा यस्तो घटना हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन त्यहाँको स्थानीय निकायले निर्देशिका जारी गरेको छ ।

उक्त निर्देशिकामा बाढीको जोखिम भएका स्थानमा विद्युतीय उपकरण चार्ज नगर्न, सवारी साधन नचलाउन र त्यस्तो ठाउँमा पार्क गरेको भए सरोकारवाला निकायलाई जानकारी गराउन अपिल गरिएको छ । त्यस्तै कुनै पनि विद्युतीय सवारीलाई प्रज्वलनशील पदार्थभन्दा कम्तीमा ५० मिटर टाढा पार्क गर्न सुझाव दिइएको छ ।