बीपी राजमार्गमा अवरोध हुँदा ५०० गाडी अलप गाडीमा रहेका यात्रु पैदलै हिँडे

बीपी राजमार्गमा अवरोध हुँदा ५०० गाडी अलपत्र परेका छन्।

गाडीमा रहेका यात्रु पैदलै हिँडेर गन्तव्यतर्फ पुग्दा गाडीसँगै चालक र सहचालक सडकमै अलपत्र परेका हुन्। 

यातायात व्यवसायीले बीपी राजमार्गको भकुन्डेबेसीदेखि सिन्धुलीको नेपालथोकसम्म दुवैतर्फ अवरोध हुँदा ५०० गाडी बीचबाटोमै अड्किएका छन्। ‘नेपालथोकदेखि भकुन्डेबेसीसम्म बस, माइक्रोबस मात्रै करिब ५०० रहेको अनुमान छ’, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले भने, ‘यात्रुहरुले पैदलै हिँडेर भकुन्डेबेसीसम्म आउनुभएको छ। त्यहाँ यताबाट बस पठाएर यात्रुलाई काठमाडौं ल्याएका छौँ।’

सिन्धुलीतर्फ जानेलाई नेपालथोकबाट गाडीको व्यवस्था गरिएको उनले बताए। 

‘यात्रुहरु गन्तव्यतर्फ हिँडे पनि चालक र सहचालक गाडी कुरेरै बस्नुपर्ने अवस्था छ’, उनले भने, ‘स्थानीय तह सक्रिय भएर खानपानको व्यवस्था गर्नुपर्ने भनेका छौँ। अहिलेसम्म अलपत्रै अवस्थामा छन्।’ महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चालक र सहचालकले खानै नपाएको गुनासो आएपछि गृह मन्त्रालयलाई जानकारी गराएको बताए। 

‘५–६ सय गाडीका चालक सहचालक अड्किएको अवस्था छ। सबै ठाउँमा राम्रा होटलको व्यवस्था नहुँदा खानाको व्यवस्था छैन’, उनले भने, ‘अड्किएका चालकहरुलाई खानाको व्यवस्था गर्न गृह मन्त्रालयमा आग्रह गरेका छौँ।’सडक विभागले बीपी राजमार्ग खुल्नको लागि कम्तीमा एक हप्ता लाग्ने बताएको छ। करिब २ किमि सडक रोशी खोलाले बगाएकाले नदीलाई डाइभर्सन गरेर सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ।