बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा कता हरायो?

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सोमबार दायर अवेलनासम्बन्धी मुद्दाको पेसी आज चढेन।

दर्ता भएलगत्तै उक्त मुद्दाको सुनुवाइका लागि मंगलबार पेसी चढाउने भनिएको थियो। तर, मंगलबार बिहान प्रकाशित पेसी सूचीमा उक्त मुद्दाको विवरण समावेश छैन। ‘स्थगित’ मुद्दाहरूको सूचीमा पनि छैन।

कहाँ गयो त मुद्दा?

सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरे पेसी व्यवस्थापनमा अपनाइएको स्वचालित प्रणालीले आज उक्त मुद्दा पेसी सूचीमा नदेखाएको बताउँछन्। भन्छन्, ‘अटोमेसनले आफै पेसीको दिन तोक्छ। कहिले पालो आउँछ, भन्न सकिन्न।’

सर्वोच्चका अधिकारीहरू उक्त मुद्दा भोलि पेसी चढ्न सक्ने बताउँछन्। तर, ठोकुवा भने कसैले गर्न सकेका छैनन्।

सोमबार सर्वोच्चका सबै न्यायाधीशहरूको बैठक (फुल कोर्ट) बसेर बार अध्यक्ष घिमिरेविरुद्ध कानुनी कारबाही अघि बढाउने निष्कर्ष निकालिएको थियो। त्यसैबमोजिम सर्वोच्च प्रशासनले अदालतको अहवेलनामा कारबाही अघि बढाउने गरी प्रतिवेदन उठाएको थियो।

उक्त प्रतिवेदनमा साँझतिर रजिस्ट्रार भद्रकाली पोखरेलले तोक लगाएर मुद्दा दर्ता गर्न अनुमति दिएका थिए। लगत्तै उक्त मुद्दा दर्ता भएको थियो। घिमिरेले गत असोज ११ गते एक कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि लेनदेनका आधारमा न्यायाधीश नियुक्त गरेको आरोप लगाएपछि बार–बेन्च द्वन्द्व झन् चर्किएको छ।

न्याय परिषद्ले पनि सोमबार एक विज्ञप्ति जारी गरी परिषदबाट सर्वसम्मत निर्णय भएको विषयलाई अन्यथा अर्थ लगाउनु कपोलकल्पित र दुरासयपूर्ण रहेको भनेको छ। घिमिरेको टिप्पणी ‘आधारहीन कलुषित भावनाबाट ग्रसित एवं पूर्वाग्रही मनोदशाबाट गरिएको’ भनी परिषद्को विज्ञप्तिमा उल्लेख छ।  बार अध्यक्ष घिमिरेले हिजै पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीशविरूद्ध व्यक्तिगत लाञ्छना लगाएको होइन भनी प्रस्टीकरण दिएका थिए।