माद्यामिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गर्न बाध्य

काठमाडौँ, १५ असोज :  अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चन्डिका माद्यामिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन् ।

गएको जेठ २७ गते पुलको एक तर्फका लठ्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुलनै कोल्टे परेको थियो । एकतर्फ कोल्टेपरेको झोलुङ्गे पुलबाटै उनहिरु यात्रा गर्ने गर्छन् । भत्किएर जिर्ण भएको पुलमा स्थानीय प्रशासनले यात्रा गर्न रोक लगाएको छ । तर पनि दैलेखबाट अछामको विद्यालयमा पढ्ने छात्राहरु महिनावारीको समयमा जोखिमपुर्ण यात्रा गरेर विद्यालय जाने गरेका छन् ।

सुरुमा यात्रामा प्रतिबन्ध लगाइएको पुलमा अहिले महिनावारीको समयमा महिलाहरु आवतजावत गरिरहेका छन् । उनिहरुलाई स्थानीय प्रहरीले नदेखेझै गर्ने गरेको छ । 

जिर्ण पुलको करिब ५ सय मिटर नजिक अर्को पुल निर्माण भएको छ । नव निर्मित पुल नजिकै मन्दिर रहेकोले महिनावारी भएका किशोरीहरु उक्त पुलबाट हिँड्दा देवता रिसाउने भन्दै नजाने गरेका छन् । कक्षा ७ मा अध्ययनरत दैलेखको आठविस नगरपालिका ५ कि तुल्सी चौलागाईले आफूहरु महिनावारीको ९ दिनसम्म जिर्ण पुलबाटै विद्यालय जाने गरेको बताउनुभयो । महिनावारी नहुँदा नवनिर्मित पुलबाट विद्यालय जाने गरेको बताउने चौलागाईंले महिनावारीको समयमा विद्यालयमा नजाँदा आफ्नो पढाई छुट्ने भएकोले जिर्ण पुलबाटै जानेगरेको बताउनुभयो । 

विद्यालयकी अर्कि छात्रा गिता सुनारले विद्यालयमा हाजिर नहुँदा प्रतिदिन २० रुपियाँ जरिवाना तिर्नपर्ने नियम रहेको बताउनुभयो । विद्यालय नजाँदा पढाइ छुट्ने र विद्यालयले जरिवाना समेत तिराउने भएकोले जिर्ण पुलबाटै जाने गरेको बताउनुभयो । उहाँले जिर्ण पुलको मर्मतका लागि सरकारसँग आफ्ना कुरा पु¥याइदिन अनुरोध गर्नुभयो । नयाँ बनेको पुलबाट महिनावारीको समयमा यात्रा गर्न नहुने स्थानीयको विश्वास छ । 

नवनिर्मित पुलको दैलेख पट्टी नैनेल देवताको मन्दिर छ । परापूर्व कालदेखि स्थानीयले नैनेल देवताको पूजा गर्ने गरेका छन । महिनावारी तथा गर्भवतिको समयमा मन्दिरको नजिक जान नहुने यहाँको धार्मीक विश्वास छ । 

चण्डिका माद्यामिक विद्यालय अछामका लेखापाल गणेश कार्कीका अनुसार पहिलेको तुलनमा विद्यालयमा छात्राको उपस्थिति कम देखिएको छ । केहि छात्राहरु जोखिम मोलेर विद्यालय आउने गरेको भएपनि अधिकांश छात्राहरु महिनावारीको ९ दिनसम्म विद्यालयमा अनुपस्थित हुन्छन् ।

विद्यालयका छात्रा मात्र हैन अछामको पञ्चदेवल विनायक नगरपालिकाका अधिकांश गर्भवती महिला र महिनावारी हुने महिलाहरु दैलेखको खिड्किज्यूला बजारमा सामान किन्न जादा लठ्ठा चुडिएर जिर्ण बनेको पुलबाटै यात्रा गर्ने गरेका छन् । जस कारण स्थानीयलाई जोखिम बढेको छ । 

पञ्चदेवल विनायक नगरपालिका ९ का वडा अध्यक्ष रामप्रसाद जैसीका अनुसार पुलको पुननिर्माण नभएसम्म स्थानीयलाई दुखनै हुनेछ । स्थानीयहको धार्मीक आस्थासँग जोडिएको कुरा भएकाले जनप्रतिनिधिले पनि उनीहरुलाई कर गर्न नमिल्ने उहाँको भनाइ छ । स्थानीय महिलाहरु र स्कुल उमेरका किशोरीहरुले पुलको पुननिर्माणको माग गरेका छन् ।