अनलाइनबाट बसको अग्रिम टिकट काटेका सेवाग्राहीले रकम फिर्ता पाउन थाले

 अनलाइनबाट बसको अग्रिम टिकट काटेका सेवाग्राहीले रकम फिर्ता पाउन थालेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण सवारी साधनको तालिका अस्तव्यस्त भएपछि सम्बन्धित टिकेटिङ प्लेटफर्मले यात्रुको रकम रिफन्ड गरिदिन थालेका हुन् । 

सोमबार, मङ्गलबार र बुधबारसम्मको टिकट लिएका यात्रुले टिकट वापतको रकम फिर्ता पाएको अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवाका सीईओ पीआर खनालले जानकारी दिए । “बाढी पहिरोले गर्दा सवारी साधन आउन-जान समस्या भयो,”  खनालले भने, “बस उपलब्ध नहुने भएपछि हामीले रिफन्ड गरिदिन थालेका छौं ।”

तालिका अस्तव्यस्त भएकाले विभिन्न रुटको बसको अनलाइन टिकट बन्द गरिएको अर्को अनलाइन बस टिकेटिङ प्लेटफर्म बकबसका संस्थापक शेरबहादुर गुप्ताले बताए । “हामीले अनलाइन टिकट खोलेको आधा घण्टामै हजारौं टिकेको माग भयो,” गुप्ताले भने, “पछि बस अपरेटरले तालिका मिलेन भनेपछि रकम रिफन्ड गरिदिन थालेका छौं ।”

घटस्थापना र त्यसपछिका दिनको टिकट लिने सेवाग्राहीको टिकट हालसम्म यथावत् रहेको बताइएको छ । टिकट लिइसकेका ग्राहकले सम्बन्धित प्लेटफर्ममा रकम फिर्ता भए नभएको हेर्न सक्छन् ।