नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी

कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आएकी छिन् । १३० घार मौरीपालन गरेकी उनले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताईन् ।

१३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताईन् । उनी बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिन्छिन् । नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताईन् । उनले घरमा मह प्रशोधनका उपकरणसमेत राखेकी छिन् । श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राखिन् । महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उनले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिईन् ।

“स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् । मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन”, नन्दकलाले भनिन्, “प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्दछ ।” उनले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाईन्। फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उनले जानकारी दिईन् ।

एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताईन् । जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उनको अनुभव छ ।

“समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ”, नन्दकलाले भनिन्, “नश्ल सुधारिएको रानीमौरीको मूल्य रु पाँच–छ लाखमा किन्नु पर्दछ । जुन सामान्य किसानलाई सजिलो छैन ।” जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उनले जानकारी दिईन् ।

१३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः रु ६००, रु ७०० र रु ८०० पर्ने जानकारी दिए । मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उनको अनुभव छ ।

सात वर्षअघि रु ४० हजार लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई शुरु गर्नुभएकी नन्दकलाले अहिले करिब रु २० लाखको मह बिक्री गर्ने गरेको बताईन् । सबै खर्च कटाएर वार्षिक रु १४ नाफा हुने गरेको उनले जानकारी दिईन् ।