आज तीनवटा संसदीय समितिको बैठक बस्दै(कार्यसूचीसहित)

 सङ्घीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा देशभर बाढी पहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे नै बस्दैछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुनेछ । छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आमन्त्रण गरिएको छ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।