पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा राति सवारी आवागमनमा रोक

काठमाडौँ, १५ असोजः  पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा आज रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
 
गजुरी गाउँपालिका–२ परेवाभिरमा केही दिन अघिको वर्षाका कारण विद्युत् प्रसारणलाइनको टावर भएको स्थानमा निरन्तर पहिरो गई उच्च जोखिम देखिएकाले रातिको समयमा सवारी आवागमन रोकिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राति त्यहाँ बिजुली छैन, उच्च जोखिमयुक्त स्थान भएकाले पहिरो रोकिने सम्भावनाको मूल्याङ्कन गर्ने र झरेको पहिरो पन्छाएर मात्र यस सडकखण्डमा यातायात आवागमन खोलिनेछ ।” आजै केही समयअघि मात्र बन्द गरिएको उक्त स्थानमा पहिरो पन्छाउनका लागि स्काभेटर भने तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

सो क्षेत्रमा राजमार्ग वारिपारि भएर विद्युत् लाइन गएकाले रातिको समयमा तार तथा पहिरो खस्ने सम्भावना रहेकाले जोखिम देखिएपछि यातायात सञ्चालनमा रोक लगाउनु परेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । प्राधिकरणसँगको समन्वयमा पहिरोे खस्नसक्ने वा नसक्ने अवस्थाको भोलि बिहान गरिने मूल्याङ्कनका आधारमा सडक सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।