नतिजा आउनासाथ त्रिविको वेबसाइट डाउन

 त्रिभुवन विश्वविद्यालयको वेबसाइट डाउन भएको छ ।  सोमबार बेलुका ६ बजे बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित भएसँगै विश्वविद्यालयको वेबसाइट डाउन भएको हो ।

२०८० साल असोजमा लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको सूचना सामाजिक सञ्जालमा आउनासाथ त्रिविको साइट नै डाउन भएको बताइएको छ । एउटा पीडा नतिजा समयमै सार्वजनिक नहुनुमा थियो, त्यसैमा साइट नै डाउन भएपछि विद्यार्थीमाथि अर्को पीडा थपिएको छ । “यो अहिले मात्र भएको होइन,” एक फेसबुक पेज सञ्चालक भन्छन्, “हामीले सूचना राख्नासाथ वेबसाइट डाउन हुन्छ ।”

जाँच दिएको वर्षदिन पुग्न लाग्दा आएको नतिजा पनि राम्रोसँग हेर्न नपाएपछि विद्यार्थी दिक्क भएका छन् । “कहिलेकाहीं त सजिलै रिजल्ट हेर्न पाए पनि कस्तो आनन्द हुँदो हो,” दिक्दार हुँदै फेसबुकमा जीवन पतनी सोध्छन्, “कुनै प्राविधिक समस्या नभइकन हामीले रिजल्ट हेर्न कहिले पाउने होला ?”

अर्का विद्यार्थी रमेश शर्मा प्रश्न गर्छन, “नतिजा आउनासाथ साइट नै डाउन हुने कस्तो वेबसाइट बनायौ हो त्रिवि ?” नतिजा चाँडै हेर्न नपाएकोमा विद्यार्थी राहुल श्रेष्ठ पनि असन्तुष्ट छन् । उनी लेख्छन्, “जाबो एउटा रिजल्ट त राम्रोसँग निकाल्न नसक्ने त्रिविले देशमा जनशक्ति कसरी राम्रो बनाउला ?”

साइट डाउन हुनासाथ सामाजिक सञ्जालमा विभिन्न किसिमका मिम र ट्रोल समेत बन्न थालेका छन् । ‘इज इट डाउन राइट नाउ’ का अनुसार त्रिविको वेबसाइट https://tuexam.edu.np/ डाउन भएको एक साताभन्दा बढी भइसकेको छ । यस प्लेटफर्मले नतिजा हेर्ने त्रिविको वेबसाइट अहिले मर्मतका क्रममा रहेको देखाएको छ । साइट चेकर प्रोका अनुसार पनि त्रिविको वेबसाइट अहिले डाउन छ । उक्त वेबसाइट खोल्दा ‘दिस साइट कान्ट बि रिच्ड’ भन्ने सूचना देखिन्छ । खासगरी वेबसाइटमा अत्यधिक ट्राफिक आएर साइटले धान्न नसकि डाउन हुँदा वा होस्टिङमा समस्या आउँदा यस्तो जानकारी देखिने गर्छ