राष्ट्रिय प्रशारणमा नजोडिँदा दैनिक लाखौँ घाटा

समयमा राष्ट्रिय प्रशारण लाइनमा जोडिन नसक्दा एक सय ११ मेगावाट क्षमताको रसुवागढी जल विद्युत् आयोजनाले दैनिक लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएको जनाएको छ ।
       
रसुवामा उत्पादित विद्युत् थाम्बुचेतबाट काठमाडौँस्थित राष्ट्रिय प्रसारणमा जोड्न गतवर्षबाटै प्रसारण लाइन निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न भएको छैन । जसका कारण ऋण रकमबाट निर्मित जलविद्युत् आयोजनालाई ब्याजको व्ययभार बढ्दै गएको आयोजनाले जनाएको छ । ‘रनर’मा पानी छोड्ना साथ बिजुली उत्पादन हुने अवस्था भइसकेपनि प्रसारण लाइनसँग जोडिन नसक्दा घाटा व्यहोर्नु परेको हो ।

भौगोलिक विकटताका कारण प्रशारण लाइन निर्माणमा ढिलाइ भएको प्राविधिकहरु बताउँछन् । राष्ट्रिय प्रशारण लाइन दशैँअघि सम्पन्न गर्ने गरी काम भइरहेको उनीहरुको भनाइ छ ।    उत्तरगया गाउँपालिका–१ सिरूचेत भदौरेदेखि तिरू क्षेत्रमा ड्रोनको सहायताले प्रशारण लाइनको तार तान्ने काम सम्पन्न भएको र त्यसलाई मजबुत बनाउने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रशारणका महाशाखा प्रमुख थर्कबहादुर थापाले जानकारी दिनुभयो । 

थाम्बुचेतदेखि काठमाडौँको मातातीर्थसम्म ७६ किलोमिटरको दुरी मध्ये ४८ किमिको काम सम्पन्न भई अपर मैलुङ र माथिल्लो त्रिशूली–१द्वारा उत्पादित विद्युत् प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । डाडागाउँ इलाकाको भदौरेदेखि थाम्बुचेतसम्मको काममा ढिलाइ भएको हो । निर्माण सम्पन्न भएका रसुवागढी र साञ्जेनको विद्युत् अलपत्र परिरहेको विद्युत् प्राविधिक बताउँछन् ।

 तीन महिना पहिल्यै निर्माण सम्पन्न भएको रसुवागढी जलविद्युत् आयोजनले राष्ट्रिय प्रशारण लाइन नपाउँदा दैनिक रू ९० लाख  घाटा व्यहोर्नुपरेको आयोजना प्रमुख सत्यराज ज्याख्वाले बताउनुभयो । कर्मचारी सञ्चय कोषको ऋण तथा स्थानीय तह, रसुवावासी र आम सर्वसाधारणको शेयरको लगानीबाट निर्माण भएको रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषलाई दैनिक रु ४६ लाख ब्याज तिरी रहेको आयोजना प्रमुख ज्याख्वाले जानकारी दिनुभयो । उता साङ्जेनले दैनिक रु २७ लाख कर्मचारी सञ्चयकोषलाई ऋणको ब्याज बुझाई रहेको जनाएको छ ।

रसुवागढी जल विद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणको १८, रसुवावासीको १०, सर्वसाधारणको १५, कर्मचारी सञ्चयकर्ताको २४, चिलिमे जलविद्युत् कम्पनीको ३२ दशमलव ७९ र स्थानीय तहको शून्य दशमलव २१ प्रतिशत शेयर रहेको बताइएको छ ।

 नयाँ राष्ट्रिय प्रशारण लाइनले एक सय ११ मेगावाटको रसुवागढी र ४२ दशमलव पाँच मेगावाट तल्लो तथा १४ दशमलव आठ मेगावाटको माथिल्लो  साञ्जेनबाट उत्पादित र रसुवा तथा नुवाकोटमा उत्पादित विद्युत् एकमुष्ट रूपमा काठमाडौँस्थित मातातीर्थको राष्ट्रिय भण्डारणमा पु¥याउने गरी काम भइरहेको छ । लाइन तान्ने काममा दैनिक एक सय ५० कामदार कार्यरत छन् ।