हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार

बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
    
जिल्लाको फालेलुङ गाउँपालिका–३ का गर्भवतीलाई गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो । ३० वर्षीया सुजा जबेगू र १८ वर्षीया भूमिका चौहानलाई आज एक÷एक जना सहयोगीसहित काठमाडौँ पठाइएको फालेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरज पासवानले जानकारी दिनुभयो ।

पासवानका अनुसार गर्भवती सुजालाई सुत्केरीका लागि चिकित्सकले दिएको समय पुगेपनि सडक नहुँदा स्वास्थ्य संस्था जान नसकी घरमै बस्नुभएको थियो । भूमिकाको पेटमा रहेको बच्चाको तौल पर्याप्त नभएकाले सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएका थिए । 

अविरल वर्षापछि असार १२ गते आएको बाढीले फालेलुङ गाउँपालिका जोड्ने हेवा खोला र फेमे खोलाको पुल बगाएपछि सदरमुकाम फिदिम तथा मेची राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको छ । मेची राजमार्गको फिदिम नगरपालिका–२ रमितेस्थित सडक भत्किएर सञ्चालन हुन सकेको छैन ।