पृतनापति समन्वयात्मक बैठक सुरु

काठमाडौँ, १४ असोज : रक्षामन्त्री मानवीर राईले संविधान प्रदत्त जिम्मेवारी र महामारीलगायत असहज परिस्थितिमा सुम्पिएको जिम्मेवारी नेपाली सेनाले सदैव उच्चतम ढङ्गले पूरा गरिरहेको बताउनुभएको छ ।

नेपाली सेनाको आजदेखि शुरु पृतनापति समन्वयात्मक बैठकमा उहाँले देशका सम्पूर्ण जिल्लालाई सडक सञ्जालमा जोड्ने विकास निर्माणसमेतमा संगठनको साख कायम राख्न सेना सफल भइरहेको बताउनुभयो ।  

बाढी तथा पहिरोमा परी मुलुक आक्रान्त रहेको अवस्थामा प्रभावित भएका आमसर्वसाधारणको उद्धारकार्यमा सेनाले पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै रक्षामन्त्री राईले थप अझ तदारुकताका साथ कार्य गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “धर्म, क्षेत्र, जात आदिका नाममा मुलुकमा अवाञ्छित क्रियाकलाप बढाउन खोजिएको साथै अन्तर्राष्ट्रिय, क्षेत्रीयस्तरमा भएका द्वन्द्वले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पार्ने प्रभाव एवं  राष्ट्रियता र राष्ट्रको रक्षा/प्रतिरक्षामा बारेमा बैठकले गम्भीर समीक्षा गरोस् ।”

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने गतिविधिलाई सेनाले सूक्ष्म अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सृजना हुन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न सदैव तयार रहेको बताउनुभयो ।

उहाँले सेनाको प्राथमिक जिम्मेवारी विशेषतः राष्ट्रको प्रतिरक्षा र आन्तरिक सुरक्षामा दिनानुदिन थपिँदै आएका चुनौतीका बारे बैठकमा छलफल योजनाको पुनरावलोकन तथा सङ्गठनको क्षमता विकासको आधुनिकीकरणका योजना अद्यावधिक गरिने बताउनुभयो ।

प्रधानसेनापति सिग्देलले अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण विशेषगरी प्रभावित कोसी, मधेस, बागमती प्रदेशलगायत आसपासका क्षेत्रबाट घाइते, बिरामी र अलपत्र परेका नागरिकलाई पैदल तथा हवाई साधनमार्फत उद्धारकार्य भइरहेको बताउनुभयो ।

उहाँले बाढी पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक सञ्जाल तथा राजमार्ग सञ्चालन गर्न लागि नेपाली सेनाले स्थानीय तह र सुरक्षा निकायसँग हातेमालो गरी तदारुकताका साथ गरिरहेको जानकारी गराउनुभयो ।

विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिको सहभागिता रहेको दुई दिने बैठकमा पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गर्नु हुनेछ ।