घर फर्किने सुरसारमा छन् सुकुम्वासी बस्तीका सर्वसाधारण

काठमाडौँ, १४ असोज : बाढीबाट विस्थापित थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीका धेरै परिवार वर्षा रोकिएसँगै घर फर्किरहेका छन् ।  बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बस्ती डुबानमा परेको थियो । बाढीले विस्थापित कतिपय परिवारले बस्ती छेउकै गुह्ेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आश्रय लिए । बाँकीले आफन्तको सहारामा रात बिताए । 

विद्यालयमा आश्रय लिइरहनु भएका ५३ वर्षीया मङ्गलबहादुर मगर आइतबारदेखि घर फर्किएर सरसफाइमा जुट्नुभएको छ । डुबानमा परेको घरको छानो छ, तर छानोमुनिको कोठाहरु हिलाम्मे छन् । हिलो सुक्न नपाइ घरभित्र बस्न सक्ने स्थिति छैन । बाढीले बगाएर बचेका हिलाम्मे लत्ताकपडा, भाँडा, फर्निचर र खाद्यान्न बागमती किनारामा लहरै सुकाइएका छन् । 

घर फर्किने तयारी गरिरहनुभएका उहाँलाई वर्षातसँगै फेरि बाढीको त्रासले छाडेको छैन । “एक दशक पुग्न लाग्यो यो बस्तीमा बसेको । तर पहिलो पटक यति बिघ्न बाढीको सामना गर्नुप¥यो । मेरो परिवारको अन्त जाने ठाँउ छैन । बसौँ, बाढीको डर छ”, हिलाम्मे कपडाहरु बागमतीकै पानीले धुँदै उहाँले भन्नुभयो, “चाडपर्व नजिकिँदै गर्दा घरको अन्य महत्वपूर्ण सामग्रीसँगै खाद्यान्न पनि बग्यो ।” 

बुवालाई सफाइमा सहयोग गरिरहनुभएका मगरका कक्षा १ र ४ मा पढ्ने दुई छोरीले पनि गुनासो सुनाउनुभयो, “हाम्रो किताब र झोला झिज्यो । आज स्कुल जान पाएनौँ ।” थापाथलीको सुकुम्बासी बस्तीमा एक सय ३६ परिवार बसोबास गर्दै आएका छन् । 

आज काठमाडौँवासी नियमित दैनिकीमा फर्किँदै गर्दा सुकुम्वासी बस्तीका परिवार पनि सामान्य दैनिकीमा फर्किने तयारीमा देखिन्थे । सुकुम्वासी बस्तीमा वर्षौँदेखि बस्दै आउनुभएका गोपाल पौडेलको परिवारले भने डुबान भइसकेपछि पनि घर छोडेनन् । बस्तीमा पौडेल परिवार कोठाभित्रको हिलो सुकाउन र सफाइमा व्यस्त हुनुहुन्छ । 

“पसलको सामान बाढीले बगायो । बचेका सामानको सुरक्षाका लागि बाढीको पहिलो दिनदेखि यहीँ बसेका छौँ”, पौडेलले भन्नुभयो, “असहज पक्कै छ । तर बस्तीका आधा परिवारले घर छाडेका छैनन् ।”

टेकु, थापाथली, त्रिपुरेश्वर आसपासका बस्तीका परिवार पनि बाढीपछि घर फर्किने तयारीमा छन् । त्रिपुरेश्वर र सानेपा जोड्ने बागमती पुल नजिकैको वंशीघाटमा किराना पसल गर्दै आउनुभएका वीजबहादुर मोक्तानको परिवार सरसफाइमा जुटेका छन् । 

विगत ३५ वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएको बताउने मोक्तानको परिवारले अझै आफन्तको घरमा बास लिइरहेको छ । मौसममा सुधार आएसँगै बाढी पसेको घरको सरसफाइमा उहाँको परिवार जुटेको हो । बस्तीमा बाढी पस्ने त्रास भएपनि बास सार्ने विकल्प नभएको उहाँको भनाइ छ । 

“दुई तीन महिनाअघि पानीको प्रवाह बढेर घरको दैलोसम्म आएको थियो । तर अहिले घर डुबानमा पर्ने गरी आयो । हामीले आफूलाई जसोतसो बचायौँ”, मोक्तानले भन्नुभयो, “बहुत डर लागेको छ । तर यहीँ बसेर आधा जीवन बितिसक्यो, अहिले कहाँ जाने ?”  मोक्तान परिवारसँगै सुकुम्वासी बस्तीमा करिब एक सय ९७ घरपरिवार छन् । केही परिवार घर फर्किसकेका छन् भने बाँकी फर्किने तयारीमा छन् ।