वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

झ्याप्ले खोलामा पहिरो हटाइएकाे ४८ घण्टापछि सडक दुईतर्फी खुल्याे, अन्य राजमार्ग कहिले मर्मत हुन्छन् ? 

राजधानी काठमाडौंसँग जोडिएका नाका ४८ घन्टासम्म अवरुद्ध रहे। भीषण वर्षासँगै पहिरो खस्दा शुक्रबार र शनिबारबाट राजधानीसँगका सबै राजमार्ग अवरुद्ध बनेका थिए। ४८ घन्टापछि राजधानीसँगको मुख्य नाका नागढुंगा–मुग्लिन  र त्रिभुवन राजपथ–चित्लाङ–चन्द्रागिरी हुँदै काठमाडौं जाने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।  आइतबार साँझ ६ बजे पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताए।  राजमार्ग एकतर्फी सञ्चालनमा आए पनि सडकमा रोकिएकाबाहेक अन्य सवारीसाधन राति सञ्चालनमा रोक लगाएको छ।

https://barnanmedia.com/news/detail/196586/ 

सिधाकुरा टिम जेल जाँदा बार अध्यक्षलाई के होला ? 

सिधाकुरा डट कमका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएपछि आइतबार कारागार चलान भए । सर्वोच्च अदालतले तीन-तीन महिना कैद सजाय सुनाएपछि दुवै जना अदालतको आदेशको सम्मानका लागि भन्दै आफै आत्मसमर्पण गर्न पुगेका थिए । उनीहरुलाई जगन्नाथदेवल कारागारमा राखिएको छ । सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । कँडेल र ढुंगानालाई ३ महिना कैद सजाय सुनाएको छ । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्नेछ । तिमल्सिनाले भने पूरै अवधि नै कैद बस्नुपर्नेछ । उनीलाई माफीको असफर पनि दिइएको छैन ।

https://barnanmedia.com/news/detail/196626/

 अखिल क्रान्तिकारीको सम्मेलनमा किन भयाे कुर्सि हानाहान ?

 नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको सम्मेलनमा विवाद भएको छ। उमेर हदको विरोध गर्दै सम्मेलनस्थलमा प्रतिनिधिहरूबीच धकेलाधकेल भएको हो।निवर्तमान उपाध्यक्ष टुकमान महराले खुकुरीसहित प्रदर्शन गरेपछि विवाद झन बढेको छ ।टुकमान लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्। सम्मेलनस्थलमा प्रतिनिधिहरूले कुर्सीसमेत फालाफाल गरेका छन्।काठमाडौंको कीर्तिपुरमा अखिल क्रान्तिकारीको २३ औं सम्मेलन चलेको छ।उक्त सम्मेलनमा आज उमेर हदबारे मतदानबाट टुंगो लगाउने तयारी भइरहेको थियो

प्रमुख आइएस लडाकूहरू पक्राउ परेपछि तालिबानद्वारा पाकिस्तानमाथि आरोप 

अफगानिस्तानभर हालैका घातक आक्रमणहरूका लागि जिम्मेबार इस्लामिक स्टेट (आइएस) समूहका ‘प्रमुख सदस्यहरू’ लाई तालिबान अधिकारीहरूले पक्राउ गरेको एक प्रवक्ताले सोमबार बताएका छन् । उनले छिमेकी पाकिस्तानमाथि उक्त सङ्गठनलाई आश्रय दिएको आरोप लगाए ।  सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि सामान्यतया सुरक्षामा सुधार आएको छ । यद्यपि आइएस समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस–के) तालिबान शासनका लागि प्रमुख चुनौतीका रूपमा उदय भएको छ ।व्यापक सुरक्षा कारबाहीले धेरै मात्रामा घरेलु आक्रमणको सङ्ख्यालाई कम गरेको छ तर यस गर्मीमा आइएस–केबाट गोलीबारी र बमबारी भइरहे ।

बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति 

अविरल वर्षासँगै आएको बाढीले यहाँको ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पु-याएको छ । यस क्षेत्र भई बग्ने खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौँ मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र रु एक करोड ६० लाख बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ । कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पु-याएको छ । 

इमेज सहकारी ठगि प्रकरण : देवकुमारको बयान सकियो 

शुक्रबार भारतको नयाँ दिल्लीमा पक्राउ परेका र सोझै बागलुङ लगिएका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले सोमबार जिल्ला अदालत बागलुङमा बयान दिएका छन्। करिब १६ महिनादेखि फरार उनको बयान सकिएको र मंगलबार चाहिँ थुनछेकको बहस हुने जिल्ला अदालत बागलुङका शाखा अधिकृत ऋषिराम रिजालले जानकारी दिए।जाहेरवाला धेरै हुँदा र उनीमाथि मुद्दासमेत फरक–फरक भएकोले बयान लामो भएको उनले बताए। आइतबार बेलुकी बागलुङ पुयाइएका नेपालीलाई प्रहरीले आफ्नै हिरासतमा राखेको छ। नेपालीविरुद्द बागलुङका १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो।

महालक्ष्मी हत्या प्रकरण : महालक्ष्मीसँग रोयको व्यक्तिगत विषयमा झगडा, रिसको झोकमा ५९ टुक्रा पारेँ- सुसाइड नोट

 केही दिन अघि भारतको बैंगलुरुमा एक जना २९ वर्षीय युवतीको दर्जनौँ टुक्रा पारिएको अवस्थामा घरकै फ्रिजमा शव भेटियो । यस घटनामा प्रमुख सन्दिग्ध मुक्ति रञ्जन रोयले गएको बुधबार आत्महत्या गरेका  थिए ।  रोयले महालक्ष्मीको हत्या गरेर फ्रिजमा शरीरका टुक्राहरू राखेका थिए । प्रहरीले रोयकोको साथबाट सुसाइड नोट भेटेको छ । यसमा उनले आफूले महालक्ष्मीलाई मारेर टुक्र्याएको कुरा स्वीकार गरेका छन् । खबरका अनुसार रोयले सेप्टेम्बर ३ मा महालक्ष्मीको हत्या गरेका थिए । सेप्टेम्बर २१ मा आफ्नै अपार्टमेन्टभित्र फ्रिजमा युवतीको टुक्रिएको शव भेटिएको थियो । पीडितको शव फेला पारेपछि प्रहरीले सन्दिग्धको खोजी तीव्र पारेका थियो । हत्या गरेपछि रोय सहर छाडेर भागेका थिए । सुसाइड नोटका अनुसार आफूले मार्नु अघि महालक्ष्मीसँग रोयको व्यक्तिगत विषयमा झगडा परेको थियो ।

एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्सकाे विजयी सुरुवात 

ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) विजयी सुरुवात गरेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा सोमबार भएको खेलमा ललितपुरले काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटमा हरायो । ललितपुरले २५–१९, २१–२५, २५–२१, २५–१९ को जित निकालेको हो ।  असोज १९ गतेसम्म चल्ने लिगमा लिगमा मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यशविस गरी ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर, दाषि ठहर भए पाँच वर्ष कैद हुन सक्ने ! 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । मुद्दा आजै दर्ता भइसकेकाले भोलि (मंगलबार) अदालतले बयान लिने र पुर्पक्षका लागि थुनामा पठाउने वा अन्य आदेश गर्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।प्रसाईंले महिलामाथि गरेका अभद्र टिप्पणी युटुब च्यानलसहित सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐनको उल्लंघन गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।

सर्वोच्चले बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी

सर्वोच्च अदालत प्रशासनले नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ।  सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्षले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्ने निष्कर्षसहित अवहेलना मुद्दा दर्ताको तयारी भइरहेको छ। न्यायाधीश नियुक्तिका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतविरुद्ध अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेकाले मुद्दा दर्ता गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको र सोमबार नै दर्ता हुने सूचना अधिकारी घिमिरेले जानकारी दिए।

रुपन्देहीमा दुध बोक्ने गाडीका चालक र सहचालकको शव फेला 

 रुपन्देहीमा आएको बाढीमा परी शनिबारदेखि हराइरहेका दुध बोक्ने गाडीका चालक र सहचालकको शव फेला परेको छ ।  दुध बोकेर रुपन्देहीको मर्चावर (सम्मरीमाई गाउँपालिका) देखि भैरहवातर्फ आउँदै गरेको भे १ च २६७६ नम्बरको जिपसँगै जिपका चालक र सहचालक बेपत्ता भएका थिए । घाघरा नदीमा गाडीसहित बगेका चालक र सह–चालकको शव सोमबार मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ । दुध बोकेर शनिबार बिहान करिब ५ बजेतिर भे १ च २६७६ नम्बरको जिपसँगै जिप चालक र सह–चालक नदीमा बेपत्ता भएका थिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जिप चालक प्रकाश तामाङ र सह–चालक उमेश लोधको शव फेला परेको जानकारी दिनुभयो ।

विकलविरुद्ध १ अर्ब ८३ करोडको विदेशी विनिमय अपचलन मुद्दा 

राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नीविरुद्ध झण्डै २ रुपैयाँबराबर जरिवाना माग गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। पौडेलले गैरकानुनी रूपमा विदेशी बैंकमा रकम जम्मा गरेको पुष्टि भएकोले विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर गरेको विभागले जनाएको छ। यसअघि अख्तियारको अनुसन्धानले नै पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशी बैंकमा खाता खोलेको, घुस र कमिसनवापतको रकम सोही खातामा जम्मा गर्न लगाउने र श्रीमतीको नाममा पठाउने गरेको फेला पारेको थियो। अख्तियारले थप अनुसन्धान गर्न विभागमा पत्राचार गरेको थियो।

प्रधानमन्त्री ओलीकाे १० दिने अमेरिका भ्रमणकाे ३४ बुँदे प्रगति सार्वजनिक

 प्रधानमन्त्री केपी शर्मा ओली १० दिने अमेरिका भ्रमणबाट फर्किएका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर आफ्नो भ्रमण सफल भएको बताए ।  अमेरिका भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीको ३४ बुँदे प्रगति सार्वजनिक गरिएको छ । उनले भ्रमणका क्रममा भएको भेट आफूले गरेको सम्बोधनलाई फेरिहस्त राखेका छन् ।

 तमोर नदीमा दुई महिलाको शव फेला

तमोर नदीले बगाएर ल्याएको दुई महिलाको शव फेला परेको छ ।  नदीले बगाएर ल्याएको एक महिलाको शव धनकुटाको मुलघाटमा फेला परेको थियो भने अर्की महिलाको शव धनकुटाको फलामेटारको पल्लोभाग तेह्रथुमको क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ । तेह्रथुम क्षेत्रमा भेटिएकाले उक्त महिलाको शव तेह्रथुमा नै लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  धनकुटाको मुलघाटमा फेलापरेको शवको हुलिया पाँचथर जिल्लाका आफन्तले आफ्नो मान्छेसँग मिल्दोजुल्दो भएकाले पाँचथरकै हुनसक्ने आशंका गरी सम्पर्कमा आउने भनिएकोले पोस्टमार्टम प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख श्यामसिंह चौधरीले जानकारी दिनुभयो । 

रोल्पाका एक व्यक्तिको गाडीको सिटमाै मृत्यु 

 रोल्पाका एक व्यक्तिको गाडीको सिटमा बसिरहेकै अवस्थामा मृत्यु भएको छ ।  मृत्यु हुनेमा रोल्पाको रुन्डीगढी गाउँपालिका-५, का पूर्णबहादुर घर्ती रहेको बताइएको छ ।  जाजरकोटको छेडागाड नगरपालिकाको थलह भन्ने ठाउँबाट घरतर्फ जाँदै गरेका उनको जाजरकोट–छिन्छु सडक खण्ड अन्तर्गत सल्यानको धारापानीमा मृत्यु भएको हो । , गाडीमा सवार अन्य यात्रुका अनुसार उनी जाजरकोटमा खोटो कम्पनीमा काम गर्थे । थलहबाट गाडी चढ्ने बेलामा उनले पेट दुखिरहेको बताइरहेका थिए ।

नेपाल प्रिमियर लिगको ‘कमर्सियल राइट्स’ ६ करोडमा विक्री 

 नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ । क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपियाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासँगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको क्यानले जनाएको छ । कम्पनीले खेलको प्रचारप्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।

सडक विभाग मातहतका २१६ जना इन्जिनियरहरूको सरुवा (सूचीसहित)

 सडक विभागले मातहतका २१६ जना इन्जिनियरहरूको सरुवा गरेको छ।विभागले मातहतका कार्यालयअन्तर्गत राजपत्र अंकित तृतीय श्रेणीका इन्जिनियरहरूको सरुवा गरेको हो।

जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा

इजरायलले आफ्ना नेता हसन नसरल्लाहको हत्या गरेपछि हिजबुल्लाहका उपनेता नईम कासिमले आफ्नो समूहले ‘जतिसक्दो चाँडो’ नयाँ प्रमुख चयन गर्ने बताउनुभएको छ । उहाँले इरान समर्थित आन्दोलनले इजरायलसँग निरन्तर लड्ने र कुनै पनि स्थलगत आक्रमणको सामना गर्न तयार रहेको पनि बताउनुभएको छ । हिजबुल्लाहको अल–मनार च्यानलमा प्रसारण गरिएको भिडियो सम्बोधनमा कासिमले भन्नुभयो, “हामी जतिसक्दो चाँडो पार्टीको नयाँ महासचिव चयन गर्नेछौं।” सम्बोधनमा उहाँले नसरल्लाहको अन्त्येष्टि कहिले गर्ने भन्नेबारे केही बताउनुभएन । 

अख्तियार आयोग चौतिसौं बार्षिक मातहतका कार्यालयहरु मार्फत माननीय प्रदेश प्रमुख समक्ष पेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक बर्ष २०८०/०८१ मा गरेका कार्यहरु समेटी तयार गरिएको आयोगको चौतिसौं बार्षिक प्रतिवेदन नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आज मिति २०८१।०६।१४ गते आयोग मातहतका कार्यालयहरु मार्फत माननीय प्रदेश प्रमुख समक्ष पेश गरिएको छ।