प्रमुख आइएस लडाकूहरू पक्राउ परेपछि तालिबानद्वारा पाकिस्तानमाथि आरोप

अफगानिस्तानभर हालैका घातक आक्रमणहरूका लागि जिम्मेबार इस्लामिक स्टेट (आइएस) समूहका ‘प्रमुख सदस्यहरू’ लाई तालिबान अधिकारीहरूले पक्राउ गरेको एक प्रवक्ताले सोमबार बताएका छन् । उनले छिमेकी पाकिस्तानमाथि उक्त सङ्गठनलाई आश्रय दिएको आरोप लगाए । 

सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि सामान्यतया सुरक्षामा सुधार आएको छ । यद्यपि आइएस समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस–के) तालिबान शासनका लागि प्रमुख चुनौतीका रूपमा उदय भएको छ ।व्यापक सुरक्षा कारबाहीले धेरै मात्रामा घरेलु आक्रमणको सङ्ख्यालाई कम गरेको छ तर यस गर्मीमा आइएस–केबाट गोलीबारी र बमबारी भइरहे ।
    
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘विशेष बलहरू’ ले ‘विद्रोही समूहका प्रमुख सदस्यहरू’ लाई पक्राउ गरेको बताउनुभयो । उक्त समूहले यसै महिना काबुलमा छ जनाको ज्यान जाने गरी आत्मघाती बम विस्फोट गराएको दाबी गरेको थियो । आत्मघाती आक्रमणकारीले पाकिस्तानमा रहेको प्रशिक्षण शिविरबाट ‘अफगानिस्तानमा घुसपैठ’ गरेको प्रवक्ता मुजाहिदले बताउनुभयो । उहाँका अनुसार शृङ्खलाबद्ध पक्राउ परेका अन्य व्यक्ति पनि त्यहाँबाट ‘हालै फर्केका’ थिए ।

उक्त कारबाहीले सुन्नी जिहादी समूहलाई अफगानिस्तानबाट निकालेको तर उनीहरूले पाकिस्तानमा ‘नयाँ सञ्चालन आधार र प्रशिक्षण शिविरहरू’ स्थापना गरेको मुजाहिदले बताउनुभयो । “यी नयाँ आधारबाट उनीहरूले अफगानिस्तानभित्र र अन्य मुलुकमा आक्रमण जारी राखेका छन्”, उहाँले भन्नुभयो ।यी टिप्पणीले तालिबानको सत्तामा पुनरागमनपछि खराब भएको पाकिस्तानसँगको सम्बन्धलाई अझ खराब बनाउने सम्भावना छ । 

इस्लामाबादले आफ्नो क्षेत्रमा बढ्दो आक्रमणका लागि अफगानिस्तानलाई दोषी ठहर गर्दै तालिबान सरकारले त्यहाँस्थित पाकिस्तानी तालिबानका विद्रोहीहरूलाई दबाउन असफल भएको दाबी गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले प्रवक्ता मुजाहिदको भनाइप्रति तत्काल कुनै प्रतिक्रिया दिएको छैन । 

पाकिस्तान, चीन, इरान र रुसले गत साता संयुक्त राष्ट्रसङ्घको महासभाको साइडलाइनमा एक वक्तव्य जारी गरेका थिए । वक्तव्यमा ‘अफगानिस्तानमा आतङ्कवादसँग सम्बन्धित सुरक्षा अवस्थाप्रति गहिरो चिन्ता’ व्यक्त गरिएको थियो । वक्तव्यमा इस्लामिक स्टेटसहित केही समूहको नाम उल्लेख गरिएको थियो । यी समूह ‘अफगानिस्तानमा आधारित’ रहेको र ‘क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा’ बनिरहेको वक्तव्यमा बताइएको थियो ।

आइएस–के सन् २०१५ मा स्थापना भएको थियो । यो सन् २०२१ अगस्टमा काबुलको विमानस्थलबाट अमेरिकाको अराजक बहिर्गमनका क्रममा भएको बम विस्फोटमा प्रमुखताका साथ उदय भएको थियो । उक्त विस्फोटमा करिब एक सय ७० अफगान र १३ अमेरिकी सैनिकको मृत्यु भएको थियो । विश्लेषकहरूका अनुसार यो समूह अन्तर्राष्ट्रिय आक्रमणहरूतर्फ मोडिँदै छ । मस्कोको एक कन्सर्ट हलमा एक सय ४० भन्दा बढी व्यक्तिको हत्या र इरानमा दोहोरो बम विस्फोटमा ९० जनाभन्दा बढीको मृत्युमा समूहको हात रहेको बताइएको छ ।