रुपन्देहीमा दुध बोक्ने गाडीका चालक र सहचालकको शव फेला

 रुपन्देहीमा आएको बाढीमा परी शनिबारदेखि हराइरहेका दुध बोक्ने गाडीका चालक र सहचालकको शव फेला परेको छ । 

दुध बोकेर रुपन्देहीको मर्चावर (सम्मरीमाई गाउँपालिका) देखि भैरहवातर्फ आउँदै गरेको भे १ च २६७६ नम्बरको जिपसँगै जिपका चालक र सहचालक बेपत्ता भएका थिए । घाघरा नदीमा गाडीसहित बगेका चालक र सह–चालकको शव सोमबार मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।

दुध बोकेर शनिबार बिहान करिब ५ बजेतिर भे १ च २६७६ नम्बरको जिपसँगै जिप चालक र सह–चालक नदीमा बेपत्ता भएका थिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जिप चालक प्रकाश तामाङ र सह–चालक उमेश लोधको शव फेला परेको जानकारी दिनुभयो ।

सोमबार बिहान दुई जनाको शव नदीमा फेला परेको र दुवै जनाको परिवार आएर शवको पहिचान गरेको उहाँले जानकारी दिनुभयो । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध सङ्कलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो ।

सोहीक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाँघरा खोला तर्ने क्रममा बगेको थियो । निरन्तरको वर्षाले घाघराको बहाव उच्च थियो । तर, विमानस्थल पछाडि बनाइएको कल्भर्ट पार गर्ने क्रममा बगेको थियो ।

जिप आइतबार क्रेनको सहायताले सशस्त्र प्रहरी बल नेपाल २७ गण भैरहवा, रुपन्देहीको टोलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फ घाघरा खोलाबाट निकालेको थियो । पानीमा डुबेको अवस्था जिप निकाले पनि चालक र सह–चालकको शव सोमबार मात्र फेला परेको हो ।