नेपाल घुम्न आएका दुई जना कोरियन नागरिकको पहिरोमा परी मृत्यु

नेपाल घुम्न आएका दुई जना कोरियन नागरिकको पहिरोमा परी मृत्यु भएको छ। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ च्यानेस्थित सिन्धु बिच रिसोर्टमा पहिरोले पुरेर उनीहरूको ज्यान गएको सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए। 

कोरियन नागरिक लि जिन वु र यु वा ह्वान योङको मृत्यु भएको हो। असोज १२ गते दिउँसो साढे १२ बजेतिर रिसोर्टको माथिबाट आएको पहिरोले तीन जनालाई पुरेको थियो। 

दोलखाको भिमेश्वर नगरपालिका ८ घर भई नेपाली सेनाका प्रमुख सेनानी मिलन केसीसँगै दुई जना कोरियन नागरिक पनि पुरिएका थिए। केसी र कोरियन नागरिक अन्दाजी ३५ वर्षीय यु वा ह्वान योङको १२ गते नै मृत्यु भएको थियो। 

अर्का कोरियन नागरिक पहिरोमा पुरिएर बेपत्ता थिए। उनको शव आइतबार अपरान्ह पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। लि जिन वुको शव जिल्ला अस्पताल चौतारामा राखिएको छ। 

प्रमुख सेनानी केसी र ह्याङ योङको शव आइतबार नै पोष्टमार्टमका लागि नेपाली सेनाको हेलिकप्टरमा त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। अर्का नागरिकको शव पनि त्रिवि शिक्षण अस्पतालमै पोष्टमार्टम गर्ने तयारी छ। 

प्रमुख सेनानी केसी कोरिया गएको समयमा उनीहरुको चिनजान भएको थियो। उनको निमन्त्रणमा दुई जना नेपाल घुम्न आएका थिए। प्रमुख सेनानी केसीले नै उनीहरुलाई लिएर उक्त रिसोर्टमा पुगेका थिए। तर पहिरोले उनीहरुको ज्यान लिएको हो। 

बाही पहिरोमा परी देशका विभिन्न भागमा झण्डै दुई सय जनाको ज्यान गइसकेको छ। अझै केही मानिस बेपत्ता छन्।